शिक्षकहरूको काठमाडौं केन्द्रीत आन्दोलन सुरु

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका छन्।
सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दा समेटेर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका हुन्।
काठमाडौंका विभिन्न स्थानबाट र्यालीसहित आएका शिक्षकले माइतीघरमा धर्ना दिएका छन्। बुधबारबाट अनिश्चितकालीन काठमाडौं केन्द्रीत सडक आन्दोलन सुरु गरिएको महासंघले जनाएको छ।
दोश्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न दवाव दिन भन्दै प्रमुख राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिएको थियो। तर, सदनको हिँउदे अधिवेशनबाट पनि विद्यालय शिक्षा विधेयक अघि बढ्न नसकेपछि महासंघले अनिश्चितकालीन काठमाडौं केन्द्रीत सडक आन्दोलन सुरु गरेको हो।
यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने महासंघको माग छ। महासंघले आफ्ना माग पूरा नभए शिक्षक विद्यालय नफर्कने चेतावनी दिएको छ।
Facebook Comment