प्रहरी नै भन्छ- तीनकुने घटनामा ५८ राउन्ड गोली प्रहार, २० जनालाई लाग्यो

काठमाडौं । नेपाल प्रहरीले चैत १५ गते तीनकुनेमा भएको राजाबादी आन्दोलनका क्रममा ५८ राउन्ड गोली प्रहार भएकोमा २० जनालाई लागेको पुष्टि गरेको छ। आज पत्रकार सम्मेलन गर्दै प्रहरीले उक्त कुरा जनाएको हो।
गोली लाग्नेमध्ये दुई महिला र १८ पुरुष रहेको प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले बताए। गोली लागेका मध्ये १३ जनाको अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ।
उनले ५८ राउन्ड गोली, ७४६ राउन्ड टियर ग्यास, १९२ पटक ब्ल्यांक फायर भएको जानकारी दिए। पेस्तोलबाट दुई राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ।
प्रदर्शनमा ५५ नेपाल प्रहरी र २३ सशस्त्र प्रहरी घाइते भएको उनले बताए। ५३ जना प्रदर्शनकारीसमेत घाइते भएको प्रहरीको भनाइ छ।
चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै भएको प्रदर्शन हिंस्रक बन्दा मानवीय क्षतिसहितको दुखद घटना घटेको थियो।
यस्तै प्रहरीले राजाबादी आन्दोलनका क्रममा मञ्चमा राष्ट्रिय गान बज्दाबज्दै टियर ग्यास नहानेको दाबी गरेको छ। ‘कार्यक्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरेको छैन। राष्ट्रिय गान बज्दा टियर ग्यास हानिएको होइन। त्यो डिप फेक भिडियो हो। कार्यक्रम सुरु नै भएको छैन, कसरी राष्ट्रिय गान बज्छ?,’ उनले भने ।
सोही घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको शवको आज ६ दिनपछि पोस्टमार्टम गरिएको छ।
त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमले सुरेशलाई गोली लागेको नभइ जलेर मृत्यु भएको देखाएको छ।
पोस्टमार्टमा संलग्न चिकित्सकका अनुसार बाहिर हल्ला भए जस्तो मारेर जलाएको पोस्मार्टम रिपोर्टमा देखिएको छैन।
श्वासप्रश्वासको नलीमा धुँवाको मुस्लो गएको देखिएको र यसले आगो लाग्दा उनी जीवित नै रहेको पुष्टि भएको ती चिकित्सकले बताए।
Facebook Comment