लामिछानेसहित तीनै जनाको बयान सकियो, अब थुन्ने कि छाड्ने भन्ने विषयमा बहस

डिसी नेपाल
९ भदौ २०७६ १३:२२

काठमाण्डौ। पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहित गरेको अभियोग लागेका रवि लामिछानेसहित तीनैजनाको बयान सकिएको छ । आइतबार अस्मिता कार्कीको बयान लिइएकोमा सोमबार लामिछाने र युवराज कँडेलको बयान लिइएको हो ।

बयान सकिएपछि सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस हुनेछ । बयान लिएर बहस गर्ने काम आजै सकिए अदालतले आजै उनीहरुलाई साधारण तारेख वा धरौटीमा छाड्ने कि पुर्पक्षका लागि थुनामा राख्ने भन्ने विषयमा निर्णय गर्नेछ । बहसका लागि वकिलहरु धेरै भएकाले सोमबार नै थुनछेकको बहस सकिन कठिन छ । यदि सोमबार थुनछेकको बहस नसकिए सुनुवाइ भोलिको लागि स्थगित हुनेछ र तीनैजना अभियुक्तहरु आज पनि हिरासतमै बस्तुपर्नेछ । आज ५ नबज्दै बहस सकिएर अदालतले निर्णय लिन समय रह्यो भने उनीहरु छुट्न पनि सक्छन् ।

पुडासैनी गएको साउन २० गते चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि साउन ३० गते तीनै जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले १० दिन लगाएर अनुसन्धान गरेपछि आइतबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले आइतबार नै अदालतमा आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेसँगै अदालतले पक्राउ परेकाहरुको बयान लिन सुरु गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *