राजाबादीको आन्दोलनमा लुटपाट गर्ने रास्वपा सदस्य नभएको पार्टीको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजावादीहरूको आन्दोलनका क्रममा चोरी र लुटपाटमा रास्वपाका सदस्य संलग्न भनेर आएका समाचार र सामाजिक सञ्जालमा आएका व्यक्तिहरु पहिले नै पार्टीबाट अलग भएको स्पष्टीकरण दिएको छ।
विहीबार प्रेस विज्ञप्ति जारी गर्दै डा. राज कुमार राई, भगवती रोकालगायत व्यक्ति विगत करिब तीन महिना अगाडिदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएको जानकारी दिएको हो।
‘खोटाङका काङ्ग्रेसका पूर्वनेता रहेका डा.राजकुमार राई, भगवती रोकालगायतका व्यक्तिहरु विगत करिब तीन महिना अगाडि देखिनै राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएको स्वघोषणा गरेका र हाल कुनै जिम्मेवारीमा नरहेका कुरा स्पष्ट गरिएको छ। उनीहरु रास्वपाका विभिन्न महत्वपूर्ण पदमा रहेको भनी मिडियामा आएकाले उक्त कुरामा कुनै सत्यता नभएको र भ्रमपूर्ण रहेको जानकारी यसै विज्ञप्तिद्वारा सबै आमसञ्चारमाध्यमहरुमा जानकारी गराइन्छ,’विज्ञप्तिमा भनिएको छ।
केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठको हस्ताक्षर रहेको विज्ञप्तिमा कानुन उल्लंघन गर्ने जोसुकै मानिस कानुनको दायरामा आउनुपर्ने र हाम्रो पार्टी भित्रका पनि चाहे जुनसुकै पद र मर्यादामा बसेका भए पनि पार्टीको तर्फबाट कानुनलाई पूर्ण सहयोग गर्ने भनिएको छ।
Facebook Comment