एनसेल सम्बन्धि सर्वोच्चको फैसलाप्रति संसदीय समितिको चासो

डिसी नेपाल
१३ भदौ २०७६ १३:५७

काठमाडौं। एनसेल सम्बन्धी सर्वोच्च अदालतले गरेको फैसला बारे प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिले चासो देखाएको छ।

शुक्रबार बसेको समितिको बैठकमा सर्वोच्च अदालतले गरेको फैसला यस अघि भएको आदेश र विभिन्न समितिले दिएको निर्देशनलाई खण्डित गर्ने गरी भएको भन्दै संसदहरुले फैसलाको अध्ययन गर्नु पर्ने बताएका छन्।

समितिमा समय मागेर बोल्दै सांसद सन्जय कुमार गौतमले नेपाल सरकार अन्तर्गतको कर निर्धारण गरि अशुलउपर गर्ने निकायले गरेको निर्णय बिपरित सर्वोच्च अदालतको फैसला आउनु आश्चर्य भएको बताए।

यस्तै अर्का सांसद देव प्रसाद गुरुङले सर्वोच्चको फैसलाले कतै गलत नजीर त बसाल्दैन भन्ने कुरामा ध्यान दिनु पर्ने बताए। अदालतले गरेको फैशलालाई समितिमा छलफल गर्न सकिन्छ कि सकिदैन भनेर जिज्ञासा राखे।

समितिका सभापति कृष्णभक्त पोखरेलले समितिमा सांसदहरुले एनसेलको विषयमा भएको फैसला बारे समितिमा छलफल हुनुपर्ने धारणा मनासिव भएको भन्दै छलफल हुनसक्ने बताए।

सार्वजनिक सरोकारको विषयमा समितिले आफ्नो दृष्टिकोण दिन सक्ने भन्दै सभापति पोखरेलले अदालतले गरेको फैसला बारे अध्ययन हुँदा अदालत झनै बलियो हुने न्याय सम्पादन राम्रो हुने बताए। समितिले न्याय सम्पादन भएको नभएको हेर्न सक्छ निर्देशन नै दिनु पर्छ भन्ने छैन भन्दै फैसला अध्ययन गर्न सकिने बताए।

सर्वोच्च अदालतले भदौ ९ गते एनसेलले तिर्नुपर्ने भनी ठूला करदाता कार्यालयले निर्धारण गरेको करलाई बदर गर्दै पुनः कर निर्धारण गर्नुपर्ने फैसला गरेको छ।

यस फैसलाले नेपाल सरकारले एनसेलबाट पुँजीगत लाभकर बापत पाउन सक्ने ६२ अर्ब ६३ करोड रुपैयाँ गुमेको विश्लेषण हुँदै आएको छ। यता सर्वोच्च अदालतले गरेको फैसला संसद्को कुनै पनि बैठक अथवा समितिमा छलफल नहुने व्यवस्था छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *