यी कारणले नेइमार बार्सिलोना जानु असम्भव थियो
काठमाडौं। युरोपियन फुटबलको समर ट्रान्सफर विन्डो भोलि सोमबार बन्द हुँदैछ । विन्डो बन्द हुने बेलामा आएर बार्सिलोनाले पेरिस सेन्ट जर्मेनका ब्राजिलियन स्ट्राइकर नेइमारलाई अनुबन्ध गर्नु व्यवहारिक रुपमा ‘असम्भव’ भएको बुझेको छ । नेइमारलाई अनुबन्ध गर्नु असम्भव देखिएपछि बार्सिलोना पछि हटेको छ र नेइमारले पनि आफू पिएसजीमै बस्ने निर्णय लिएका छन् ।
अहिले बार्सिलोनासँग पिएसजीको माग पूरा गर्न सक्ने बलियो आर्थिक कोष छैन । पिएसजी पनि बार्सिलोनालाई सहज हुनेगरी आफू केही लचिलो हुने पक्षमा छैन । नेइमारको ट्रान्सफरबारे छलफल सुरु भएसँगै पिएसजीले नेइमारको मूल्यमा आफ्नो अडान छाडेको छैन । पिएसजी सबैभन्दा तल झरेको भनेको १५० मिलियन युरोसम्म हो जुन रकम उनीहरुले २०१७ मा नेइमारलाई बार्सिलोनाबाट लैजान तिरेको रकमभन्दा ७२ मिलियन युरो कम हो । तर यो मूल्यमा झरेपछि पिएसजीले नेइमारको बदलामा यो पैसासँगै खेलाडी पनि मागेको थियो ।
बार्सिलोना पनि आफ्नो आर्थिक सीमितताबारे सचेत थियो र उसले पनि इभान राकिटिक (जसलाई गत सिजन पिएसजीले अनुबन्ध गर्न चाहेको थियो) र उस्माने डेम्बेले (जसलाई पिएसजीका कोच थोमस टुचेलले नेइमारको राम्रो प्रतिस्थापनको रुपमा हेरेका थिए) जस्ता खेलाडीलाई दिएर नेइमारलाई ल्याउने प्रयास गर्यो । आरएसी वनका अनुसार यी जर्मन कोचले पनि डेम्बेलेलाई पिएसजी आउनको लागि प्रयास गर्न भनेका थिए तर डेम्बेलेले बार्सिलोना छाड्न चाहेनन् ।
साँच्चै भन्दा पिएसजीले यो ट्रान्सफरको लागि खासै चासो देखाएको थिएन । उनीहरुले मागेको १५० मिलियन युरो र खेलाडी मुख्य मुद्दा थियो । पेरिसमा भएका २ बैठकमा बार्सिलोनाले डीलमा राकिटिक, डेम्बेले र जीन–क्लेयर टोडिबो जस्ता खेलाडीलाई समावेश गरेर रकम घटाउने प्रयास गरेको थियो तर यो पर्याप्त देखिएन । यी खेलाडीहरुले पिएसजीमा बार्सिलोनामा भन्दा धेरै कमाइ गर्न सक्थे तर यी कुनै पनि खेलाडी पेरिस जान इच्छुक देखिएनन् । पिएसजीले पनि आफूहरुले मागेको १५० मिलियन युरोबाट रकम घटाउन तयार भएन ।
बार्सिलोनाको छलफलका लागि गठित टिमका दस्यहरु ओस्कार ग्राउ, जेभियर बोर्डास, एरिक अबिडाल र आन्द्रे करीले नेइमारलाई नै यसका लागि अघि सार्ने प्रयास गरे । यो बीचमा रियल मड्रिडको छायाँ हट्दै गयो र नेइमारले पनि निर्णय गरे कि आफू बार्सिलोना जान चाहेको पिएसजीलाई प्रस्ट पार्ने यही सही समय हो । यी दुवै पक्ष त्यसपछि च्याम्पियन्स लिगको ड्रमा मोनाकोमा भेटे । तर, पिएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्दोले शुक्रबार घोषणा गरे ‘यो छलफलपछि कुनै समझदारी हुन सकेन किनकि हाम्रो माग पूरा गरिएन ।’
Facebook Comment