चीनको औद्योगिक उत्पादन घट्यो
बेइजिङ (रासस/एपी) । चिनियाँ औद्योगिक उत्पादनसम्बन्धी दुई वटा सर्भेक्षणले चिनियाँ सामानको मागमा कमी आएको देखाएका छन् । अमेरिकासँग व्यापार र प्रविधि विषयमा जारी व्यापार युद्धले चिनियाँ औद्योगिक उत्पादनमा कमी आएको हो ।
चिनियाँ व्यावसायिक अखबार काइसिनद्वारा विश्लेषणात्मक खरिद सूचकले गत जुलाईको ४९.९ विन्दुबाट ५०.४ विन्दुमा पुगेको देखाएको छ । कूल १०० अङ्क रहेको यस सूचकले पछिल्लोपटक कारखाना उत्पादनमा सामान्य वृद्धि भएको देखाएको छ, तर वार्षिक विन्दुगत उत्पादनमा कमी आएको देखिएको छ ।
अखबारका अनुसार कारखानबाट उत्पादित वस्तुको मागमा व्यापक कमी आएको छ । शनिबार नै चिनियाँ औद्योगिक समूह “चाइना फेडेरेशन अफ लजिस्टिक एन्ड पर्चेजिङ”द्वारा प्रकाशित अर्को सर्भेक्षणमा बजार माग “सापेक्षित रूपमा कमजोर” रहेको देखाएको छ ।
अध्ययनमा जुलाईको ४९.७ अङ्कको तुलनामा पछिल्लो अगस्टमा ४९.७ विन्दुमा आइपुगेको छ । चिनियाँ निकासीकर्ताहरू अमेरिकी करवृद्धिका अघिल्तिर सङ्घर्षरत् देखिएका छन् । जुलाईमा चिनियाँ सामानको अमेरिका निकासीमा ६.५ प्रतिशतले कमी आएको छ । चीनको सबैभन्दा ठूलो बजार अमेरिका हो ।
अमेरिका र चीनले आइतबार मात्र एकअर्का मुलुकका अर्बौं डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । चीनले निर्माण क्षेत्रमा सरकारी लगानी बढाएर आर्थिक वृद्धिलाई निरन्तरता दिने प्रयत्न थालेको छ । चीनमा अघिल्लो वर्षको तुलनामा यस वर्षको जुन महिनासम्म आर्थिक वृद्धि ६.२ प्रतिशत मात्र रहेको छ । विगत २६ वर्षमा चीनको यो सबैभन्दा न्यून आर्थिक वृद्धि हो ।
Facebook Comment