अश्विनलाई भित्र्याउने दिल्लीको योजना, सन्दिपलाई झन् कठिन

डिसी नेपाल
१८ भदौ २०७६ १२:०५

एजेन्सी । २०२०मा हुने आइपिएल क्रिकेटका लागि दिल्ली क्यापिटल्सले अनुभवी स्पिनर रविचन्द्रन अश्विनलाई आबद्ध गर्न प्रक्रिया अघि बढाएको छ।

किंग्स–११ पञ्जावका कप्तान अश्विनलाई भित्र्याउन दिल्लीसँगै सनराइजर्स हैदरावादले पनि इच्छा देखाएको छ। यद्यपी हैदरावादको प्रस्ताव अघि बढ्न सकेको छैन। अश्विनको विषयमा दिल्ली र पञ्जावबीच पछिल्ला महिनामा छलफल भएको क्रिकइन्फोले जनाएको छ।

२०१८ को सिजनमा अश्विन ७.६ करोड भारुमा पञ्जावमा आबद्ध भएका थिए। आबद्ध भए लगत्तै उनलाई पञ्जावले कप्तानको जिम्मेवारी दिएको थियो। अश्विन दिल्ली गएको अवस्थामा उनी चौथो आइपिएल टिमबाट खेल्नेछन्। यसअघि उनले पञ्जावसँगै चेन्नइसुपर किंग्स र राइजिङ पुने सुपरजायन्टबाट खेलेका थिए।

३२ वर्षीय अश्विन आइपिएलका सफल स्पिनरमा पर्छन्। पावर प्लेमा र डेथ ओभरमा आस्विन प्रभावशाली देखिदै आएका छन्। उनले आइपिएलका १३९ खेलमा १२५ विकेट लिइसकेका छन्।अश्विन दिल्ली आए उनी टिमका आठौं स्पिनर हुनेछन्। दिल्लीमा अहिले नै सात जना स्पिनर छन्। जसमा अक्षर पटेल, अमित मिश्रा, राहुल टेवाटिया, जलाज सक्सेना, मायंक मार्कण्डे, जे सुचिथ र सन्दीप लामिछाने छन्।

दिल्लीमा स्पिनरको संख्या बढ्दै जाँदा नेपालका लेगस्पिनर सन्दिपलाई पहिलो रोजाइमा टिममा पर्न कठिन बन्ने देखिएको छ। यसअघि २०२० कै सिजनका लागि मुम्बई इन्डियन्सका २१ वर्षीय लेगस्पिनर मार्कण्डे दिल्लीमा आबद्ध भएका थिए। जससँगै तीन वर्षे सम्झौताको अन्तिम सिजनमा रहेका सन्दीपलाई पहिलो रोजाइमा पर्न झन् गाह्रो हुने देखिएको थियो।

मार्कण्डेले २०१८ को सिजनमा मुम्बईका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। गत सिजन भने उनले ३ म्याच मात्र खेलेका थिए। यो अवस्थामा दिल्लीमा आएका मार्कण्डेको मुख्य प्रतिस्पर्धा सन्दिपसँग हुनेछ। अझ अनुभवी स्पिनर अस्विन आउँदा स्पिनरको कोटामा झन् प्रतिस्पर्धा हुने देखिएको छ।

दुई वर्ष अघिको सिजनमा उत्कृष्ट खेलेका मार्कण्डे भारतीय भएकाले उसैपनि गत सिजनमा आधा भन्दा बढी खेल्न नपाएका सन्दिपले टिममा पर्न कडा प्रतिस्पर्धा गर्नु पर्नेछ। विदेशी खेलाडीको रुपमा दिल्लीको पहिलो रोजाइमा पर्न सन्दिपले प्रदर्शनमा थप सुधार गर्ने पर्नेछ। यस्तै सन्दिपले अर्को टिम खोज्नु पर्ने विकल्प रोज्नु पर्ने अवस्थामा पनि हुन सक्छ।

सन्दिपले गत सिजन दिल्लीबाट ६ खेल खेल्दै ८ विकेट लिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *