भारतको ब्याटिङ कोचबाट बर्खास्त भएपछि संजयले छनोटकर्तालाई कोठामै गएर थर्काए
एजेन्सी। भारतीय टिमको ब्याटिङ कोचबाट बर्खास्त गरिएका संजय बांगडले राष्ट्रिय छनोटकर्ता देवांग गान्धीलाई उनको कोठामै गएर थर्काएका छन् । वेष्ट इण्डिज टुरमा रहेका बांगडले त्यहीँ रहेमा गान्धीसँग निकै अभद्र शैलीमा विवाद गरेको बीसीसीआइका एक अधिकारीलाई उद्धृत गर्दै आज तकले लेखेको समाचारमा उल्लेख छ । बांगड बर्खास्त भएपछि अब बिक्रम राठोर ब्याटिङ कोच छन् ।
यो विवादको खबर प्रमुख छनोटबर्ता एमएसके प्रसादका अलावा बीसीसीआइ अधिकारीहरुसम्म पुगेको छ । अब बीसीसीआइले प्रशासनिक प्रबन्धक सुनील सुब्रमन्यम वा मुख्य कोच रवि शास्त्रीले आधिकारिक रिपोर्ट बुझाएपछि बांगडसँग सोधपुछ गर्ने बताइएको छ । बीसीसीआइका अधिकारीका अनुसार बांगडले गान्धीलाई धम्की दिँदै टिम आफ्नो साथमा भएको र आफूलाई कोच पदबाट हटाउने निर्णय उल्टो पर्न सक्ने भनेका थिए । बांगडले यहाँसम्म भनेका थिए कि यदि चयनकर्ता उनलाई ब्याटिङ कोचको रुपमा उपयुक्त मान्दैनन् भने राष्ट्रिय क्रिकेट एकेडेमीमा कुनै भूमिका दिइयोस् ।
भारतीय टिमको सपोर्ट स्टाफ नियुक्त गर्ने अधिकार राष्ट्रिय चयन समितिसँग छ । सहयोगी स्टाफमध्ये केवल बांगडलाई मात्रै हटाइएको थियो । बलिङ कोच भरत अरुण र फिल्डिङ कोच आर श्रीधरलाई निरन्तरता दिइएको थियो । बीसीसीआइका अधिकारीले गान्धी र बांगडको झडपको पुष्टि गरे। तर, उनीहरुलाई यो विवाद अगाडि बढ्छ जस्तो लाग्दैन किनकि अब बांगडसँग बीसीसीआइको करार छैन ।
Facebook Comment