काङ्ग्रेस महाधिवेशन प्रतिनिधि प्रशिक्षणको तयारी

डिसी नेपाल
१९ भदौ २०७६ ६:५२

काठमाडौँ । नेपाली काङ्ग्रेसले भक्तपुरमा आयोजना गर्न लागेको प्रदेश नं ३ का सातवटा जिल्लाका महाधिवेशन प्रतिनिधिको दुईदिने प्रशिक्षणको तयारी पूरा भएको जनाएको छ।

नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले यही भदौ २० र २१ गते मध्यपुरथिमि नगरपालिका–९ बोडे स्थित कृषि विकास बैंकको तालीम केन्द्रमा सो प्रशिक्षण गर्न लागेको हो।

नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला कार्यसमितिको संयोजन तथा व्यवस्थापनमा आयोजना हुन लागेको प्रशिक्षण कार्यक्रमको तयारी पूरा भएको काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले जानकारी दिए।

उनले भने, “भक्तपुरमा प्रदेश नं ३ का १३ जिल्लामध्ये काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका सात जिल्लाका ३१० जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्।”

प्रतिष्ठानले प्रदेश ३ मा दुई स्थानमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दैछ। प्रदेश ३ का बाँकी ६ जिल्ला रसुवा, नुवाकोट, धादिड, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिका लागि मकवानपुरमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिने जनाइएको छ। काङ्ग्रेसले प्रदेश १ को धनकुटा र मोरङ, प्रदेश २ को जनकपुरधाम र वीरगन्ज तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको भीमदत्त नगरपालिकामा महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण चलाउने भएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *