७४ वर्षकी महिला बिहेको ५७ वर्षपछि बल्ल आमा बनिन्, जुम्ल्याहा छोरी जन्माइन्

डिसी नेपाल
२० भदौ २०७६ १०:५५

काठमाडौं। महिलाहरुले सामान्यतया बिहेको केही वर्षमै बच्चा जन्माउँछन् । महिलाहरुको प्रजनन् क्षमता ५० वर्षको उमेर हुँदासम्म रहन्छ त्यसपछि धेरैजसो महिलाको प्रजनन क्षमता नै समाप्त हुन्छ । तर, एक महिलाले सामान्य प्रजनन् उमेरमा बच्चा जन्माउनै सकिनन् । अहिले उनले ७४ वर्षको उमेरमा आएर बल्ल सन्तान जन्माएकी छिन् । उनले बिहीबार जुम्ल्याहा छोरी जन्माइन् ।

दक्षिण भारतको आन्ध्र प्रदेश राज्यको गुंटुर जिल्लाकी मंगायम्मा नामकी ती महिलाले अहिल्या नर्सिङ होममा सिजेरियन विधिबाट बच्चा जन्माएकी हुन् । उनको बिहे ५७ वर्ष पहिले पूर्वी गोदावरी जिल्लाका एक किसान यरमसेत्ती राजारावसँग भएको थियो । विगत १ दशकदेखि सन्तानको लागि उनको उपचार भइरहेको थियो । अहिले उनले आइभिएफ प्रविधिबाट जुम्ल्याहा छोरीलाई जन्म दिएकी हुन् ।

मंगायम्माको एक दशकदेखि उपचार भइरहेको थियो । एक वर्षपहिने उनले आइभिएफ एक्सपर्ट डा. सनक्कायला उमाशंकरलाई भेटिन् । डाक्टरहरुले उनको माइनर सर्जरी गरे र अन्य महिलाको युट्रस उनको शरीरमा ट्रान्सप्लान्ट गरे । जनवरीमा सफलता प्राप्त भयो । मंगायम्मा गर्भवती भएको पुष्टि भयो । डाक्टरका अनुसार मंगायम्मा ७४ वर्षको उमेरमा पनि फिट छिन् । उनलाई न मधुमेह छ न त उच्च रक्तचापको समस्या छ । उनको फिटनेसका कारण उपचार सहज भयो ।

उपचारका क्रममा दम्पतीलाई शान्त राख्नको लागि कैयौं पटक काउन्सिलिङ गरिएको थियो । मंगायम्माले भनिन् ‘मलाई लाग्थ्यो कि म सन्तानको अनुहार हेर्न नपाइ अन्तिम सास लिनेछु । तर, छिमेकमा पनि ५५ वर्षकी एक महिलाले बच्चा जन्माएकी थिइन् । त्यसपछि मेरो सोच बदलियो । उनले मलाई आइभिएफ प्रविधिबाट आमा बन्ने सल्लाह दिइन् । मैले पतिलाई यसको लागि मनाएँ र अहिले खुसी छु ।

आइभिएफ एक्सपर्ट डा. उमाशंकरका अनुसार दुवै बालिका र आमा स्वस्थ छन् । बालिकाहरुको तौल १.८ किलो छ । मंगायम्मा छोरीहरुलाई स्तनपान गराउन असमर्थ छिन् त्यसैले मिल्क बैंकको सहयोगले बालिकाहरुलाई दूध खुवाइएको छ । यसअघि धेरै उमेरमा आमा बनेको रेकर्ड राजस्थानकी दलजिंदर कौरको नाममा थियो । उनले ७० वर्षको उमेरमा १९ अप्रिल २०१६ मा एक छोरा जन्माएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *