मालिंगाको कीर्तिमानी प्रदर्शनमा श्रीलंकाको जित

डिसी नेपाल
२१ भदौ २०७६ ६:३५

एजेन्सी । बलर लासिथ मालिंगाले कीर्तिमानी प्रदर्शन गरेपछि श्रीलंकाले न्युजिल्याण्डविरुद्धको अन्तिम तथा तेस्रो टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा जित निकालेको छ । शुक्रबार राति भएको खेलमा घरेलु टिम श्रीलंकाले न्युजिल्याण्डलाई ३७ रनले हराएको हो । अन्तिम खेल जितेपनि श्रीलंकाले तीन खेलको सिरिज २–१ ले गुमाएको छ ।

श्रीलंकाले दिएको १२६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १६ ओभरमा ८८ रन जोड्दा अलआउट भयो । न्युजिल्याण्डको लागि कप्तान टिम साउथीले अविजित २८ रन जोडे । यस्तै मिचेल स्टाननरले १६ तथा कोलिन मुन्रोले १२ रन बनायो ।

न्युजिल्याण्डलाई सस्तैमा समेट्न मालिंगाले ह्याट्रिकसहित ५ विकेट लिए । ह्याट्रिकसहित ५ विकेट लिएसँगै मालिंगा टी–ट्वान्टीमा धेरै कीर्तिमान बनाए । न्युजिल्याण्डविरुद्ध उनले तेस्रो ओभरको चार बलमा ४ विकेट लिँदै ह्याट्रिक पुरा गरेका थिए ।

ओभरको तेस्रो बलमा कोलिन मुन्रो, चौथो बलमा हामिश रुथरफोर्ड, पाँचौ बलमा कोलिन डी ग्राण्डहोमको विकेट लिएर ह्याट्रिक पुरा गरेका मालिंगा छैठौं बलमा रोस टेलरलाई शिकार बनाउदैं ४ बलमा ४ विकेट लिने खेलाडीको कीर्तिमान बनाए ।

मालिंगाले दोस्रो पटक ४ बलमा ४ विकेट लिएका हुन् । योसँगै मालिंगा टी–ट्वान्टी अन्तराष्ट्रियमा दुई ह्याट्रिक लिने पहिलो खेलाडी बने । यस्तै टी–ट्वान्टी अन्तराष्ट्रियमा १०० विकेट लिने पहिलो खेलाडी समेत बने ।

त्यस्तै मालिंगाले अन्तराष्ट्रिय क्रिकेटमा पाँच ह्याट्रिक विकेट लिने पहिलो खेलाडीको कीर्तिमान समेत बनाए । यसअघि श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको थियो । श्रीलंकाका लागि दनुशा गुनाथिलाकाले ३० तथा निरोशन डीक्वेलाले २४ रन बनाए । न्युजिल्यान्डका मिचेल स्टाननर र ओड अस्टलले ३–३ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *