स्पेनका कप्तान रामोसको नयाँ कीर्तिमान

डिसी नेपाल
२३ भदौ २०७६ ११:५४

एजेन्सी । स्पेनिस राष्ट्रिय फुटबल टोलीका कप्तान सर्जियो रामोसले स्पेनिस फुटबलकै सर्वाधिक सफल गोलरक्षक इकर कासिलासको कीर्तिमान तोड्ने भएका छन् ।

रामोस स्पेनका लागि सर्वाधिक खेल जित्ने खेलाडी बनिसकेका छन् । आइतबार स्पेनले युरो कप छनोटमा फरो आइल्यान्डको सामना गर्दा रामोस अब स्पेनका लागि सर्वाधिक खेल खेल्ने खेलाडी पनि बन्न नजिक पुग्नेछन् । उनले कासिलाससँग सर्वाधिक खेलको संख्या बराबर गर्ने भएका हुन् । रामोसले फरो आइल्यान्डविरुद्ध १ सय ६७ औं पटक स्पेनका लागि खेल्न लागेका हुन् । सन् २०१३ मा स्पेनका लागि १ सयौं खेल खेल्दै उनी उक्त उपलब्धि हासिल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए ।

विश्व फुटबलमा सर्वाधिक खेल खेल्ने कीर्तिमान अहमद हसनको नाममा छ । उनले इजिप्टको राष्ट्रिय टोलीका लागि १ सय ८४ खेल खेलेका छन् । युरोपमा भने यो कीर्तिमान जियानलुइजी बुफोनको नाममा रहेको छ । बुफोनले इटालीको जर्सीमा १ सय ७६ खेल खेलेका छन् । रामोस अब बुफोनभन्दा ९ खेल र हसनभन्दा १७ खेल पछाडी रहेका छन् ।

रामोसले राष्ट्रिय टोलीका लागि हालसम्म २१ गोल गरेका छन् । अघिल्लो वर्ष रुसमा सम्पन्न विश्वकपपछि मात्र रामोसले ८ गोल गरेका छन् । रामोस अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने डिफेन्डर पनि बन्ने धुनमा छन् । अर्जेन्टिनाका ड्यानीएल अल्बर्टो पासारेल्लाले ७० खेलमा २२ गोल गर्दै उक्त कीर्तिमान आफ्नो नाम गरेका छन् । रामोसले छिट्टै उक्त कीर्तिमान आफ्नो नाम गर्ने सम्भावना रहेको छ ।

स्पेनिस क्लब रियल म्याड्रिड आएको १४ वर्ष पुग्दा रामोसले अन्तर्राष्ट्रिय फुटबलसँगै क्लब फुटबलमा पनि उत्तिकै सफलता हात पारेका छन् । स्पेनसँग विश्वकप उपाधि र २ पटक युरो कप जितेका रामोसले रियलका लागि पछिल्लो डेढ दशक प्रभावशाली भूमिका खेल्दै आएका छन् । हाल क्लबका कप्तान रहेका रामोसले ४ पटक च्याम्पियन्स लिग, ४ पटक ला लिगा, ४ पटक क्लब विश्वकप, ३ पटक युरोपेली सुपर कप, ३ पटक स्पेनिस सुपर कप र २ पटक कोपा डेल रे उपाधि हात पारेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *