धोनीले सम्मानजनक विदाइको नपाउने सम्भावना बढेपछि कुंबलेको यस्तो प्रतिक्रिया

डिसी नेपाल
२४ भदौ २०७६ १६:४७

एजेन्सी। भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनी विश्वकपपछि राष्ट्रिय टिमबाट बाहिर छन् । उनी वेष्ट इण्डिज टुरमा आफ्नै इच्छाले गएका थिएनन् तर त्यसपछि दक्षिण अफ्रिकाविरुद्ध हुने सिरिजको लागि भने बीसीसीआइको छनोट समितिले धोनीलाई छानेन । यस्तोमा धोनीले छिटै सन्यास घोषणा गर्न सक्ने मानिएको छ । तर उनले आफ्नो अन्तिम खेल खेल्दै मैदानबाटै सम्मानजनक सन्यास लिन पाउँछन् कि पाउँदैनन् भन्ने कुरा अन्योलमै छ ।

भारतलाई २००७ को टि-२० विश्वकप र २०११ को एकदिवसीय विश्वकप जिताउने काममा हिरो रहेका युवराज सिंहले सम्मानजनक सन्यास लिन पाएनन् । उनी राष्ट्रिय टिमबाट बाहिरिएपछि फेरि टिममा पर्न सकेनन् र यही बीचमा मैदानबाहिरबाटै सन्यासको घोषणा गरे । यस्तै भारतका लागि ठूलो योगदान गरेका वीरेन्द्र सहवाग, गौतम गम्भीर, भीभीएस लक्ष्मण लगायतका दिग्गज खेलाडीले पनि मैदानबाहिरबाटै सन्यास घोषणा गर्न बाध्य भए । अहिले धोनी पनि त्यतै गरी सन्यास घोषणा गर्ने स्थितिमा पुग्ने हुन् कि भन्ने खतरा देखिएको छ ।

यही बीचमा भारतका पूर्व टेस्ट कप्तान अनिल कुंबलेले धोनी सम्मानजनक विदाइको हकदार भएको बताए । उनले यस विषयमा छनोटकर्ताहरुले धोनीसँग कुरा गर्नुपर्ने बताए । कुंबलेले भने ‘धोनी जहिले खेलबाट अलग हुन चाहन्छन् उनलाई सम्मानजनक विदाइ दिइनुपर्छ । चयनकर्ताले यस विषयमा आफ्नो योजनालाई लिएर धोनीसँग चर्चा गर्नुपर्छ । यदि चयनकर्ताहरुलाई लाग्छ कि धोनी टि-२० विश्वकपका लागि फिट भन् भने उनी हरेक खेलमा खेल्नुपर्छ । चयनकर्ताहरुले अब फैसला गर्नुपर्छ किनकि विश्वकप १ वर्ष मात्र टाढा छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *