रोनाल्डो बने युरो छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी

डिसी नेपाल
२५ भदौ २०७६ ७:०७

एजेन्सी । पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो युरो छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । युरो छनोटमा मंगलबार राति लिथुनियामाथि ह्याट्रिकसहित ४ गोल गर्दै रोनाल्डोले उक्त कीर्तिमान हासिल गरेका हुन् ।

रोनाल्डोले आयरल्यान्डका रोबी किनको २३ गोलको कीर्तिमानलाई तोडेका हुन् । मंगलबार राति ह्याट्रिक गरेका रोनाल्डोले युरो छनोटमा २५ गोल पुरा गरेका छन् । आफ्नो कीर्तिमान तोडिएसँगै किनले सामाजिक सन्जाल इन्स्टाग्राममा रोनाल्डोलाई बधाई दिदै रोनाल्डोसँग पर्याप्त रेकर्ड रहेको उल्लेख गरेका छन् ।

मंगलबार लिथुआनियाविरुद्ध खेलको सातौं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेको थिए । त्यसपछि रोनाल्डोले खेलको ६२ र ६५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ७६औं मिनेटमा रोनाल्डोले व्यक्तिगत चौथो गोल गरे । समग्रमा रोनाल्डोको यो आठौं अन्तर्राष्ट्रिय ह्याट्रिक हो । उनी पोर्चुगलको सर्वाधिक गोलकर्ता समेत हुन् ।

रोनाल्डोले हालसम्म १ सय ६० खेल खेल्दै ९३ अन्तर्राष्ट्रिय गोल गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान इरानका अली दाइको नाममा रहेको छ । अलीले १ सय ४९ खेल खेल्दा १ सय ९ गोल गरेको किर्तिमान रहेको छ । उनले सन् १९९३ देखि २००६ को बिचमा इरानको प्रतिनिधित्व गरेका थिए ।

हाल अन्तर्राष्ट्रिय फुटबल खेलिरहेका खेलाडीमा रोनाल्डोपछि भारतका सुनिल क्षेत्री छन् । उनले १ सय १२ खेलमा ७२ गोल गरेका छन् । त्यसपछि अर्जेन्टिनाका कप्तान लिओनेल मेसिले १ सय ३६ खेलमा ६८ गोल गरेका छन् । ब्राजिलका नेयमारको नाममा पनि ९८ खेलमा ६१ गोल छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *