ल आउ साथी राष्ट्रिय गानको चर्चा गरौँ
वेदमा राष्ट्रभक्ति छ, पुराणमा राष्ट्रस्तुति छ। महाभारत र रामायणका कथा र गाथाहरु राष्ट्रियताका नमूना हुन्। मानव हौँ — समाजमा बस्न सिकेका छौँ त्यसैले राष्ट्रको आवश्यकता परेको हो। रावण पनि थिए राम पनि थिए। कृष्ण पनि थिए र कंस पनि। मानवसमाजमा सबै राम र कृष्ण हुन सकेका भए, सबै बुद्ध, ज्ञानी र महात्मा हुन सकेका भए राष्ट्रका सिमानाको कुनै आवश्यकता नै थिएन।
एउटा निश्चित भूगोलभित्र बस्ने मानवहरुको आफ्नो धर्म, संस्कृति र सभ्यताको विकास भएको हुन्छ। त्यही आधारमा त्यहाँको पहिचान बनेको हुन्छ। त्यही पहिचानलाई उजागर गर्नका लागि राष्ट्रका विभिन्न परिचायक प्रतिविम्बहरु निर्धारण गरिएको हुन्छ। त्यही परिचय बोल्ने प्रमुख माध्यम हो – राष्ट्रिय गीत पनि।
एउटा निश्चित भूगोलभित्र बस्ने मानवहरुको आफ्नो धर्म, संस्कृति र सभ्यताको विकास भएको हुन्छ। त्यही आधारमा त्यहाँको पहिचान बनेको हुन्छ। त्यही पहिचानलाई उजागर गर्नका लागि राष्ट्रका विभिन्न परिचायक प्रतिविम्बहरु निर्धारण गरिएको हुन्छ। त्यही परिचय बोल्ने प्रमुख माध्यम हो – राष्ट्रिय गीत पनि।
विश्वको इतिहासमा सदियौँदेखिको जिउँदो राष्ट्र हो हाम्रो देश – नेपाल । भगवान पशुपतिनाथको यस पावनभूमिको आफ्नै गौरव गाथा छ। यहाँका मठ–मन्दिर, चैत्य–गुम्बा आदिले यो देशलाई देवभूमि बनाएका छन्। यहाँका पहाड र हिमाल अनि नदी किनारामा गरिने तप, ध्यान, साधना आदिले यो देशलाई देवत्वमा पुग्ने तपोभूमिको रूपमा स्थापित गरेको छ। यहाँ अनेकौँ ऋषिमुनि, सन्तमहात्माहरू जीवनको पाठ पढाउँदै हिँड्छन्; शान्तिका मन्त्र गुन्जाउँदै हिँड्छन्। यही हो नेपाल, यही हो प्रकृतिको दिव्य भूमि नेपाल।
अनि यही भूमिमा गुञ्जिन्छ — “सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली …… ” ।
आन्तरिक द्वन्द्वमा होओस् वा बाह्यपक्षसँगको द्वन्द्वमा – शान्ति र स्थिरताका लागि हामी नेपालीले भगवान पशुपतिनाथलाई पुकार्दछौँ । सातसय वर्षअघि काठमाडौँ आएर समसुद्धिन तुगलकले यहाँका देवस्थलहरु ध्वस्त गरिरहँदा पनि हामी विचलित भएका थिएनौँ । अंग्रेजसँगको युद्धमा पनि हामी विचलित नभईकन डटेका थियौँ । हामीले आफ्नो रगत बगायौँ, जीवन गुमायौँ तर स्वतन्त्रता र स्वाभिमानलाई कायम राखेका छौँ ।
भगवान पशुपतिनाथलाई हामीले सदियौँदेखि नै राष्ट्रदेवको रुपमा पुकार्दछौँ । वाग्मती नदी किनारमा अवस्थित भगवान पशुपतिनाथलाई नै केन्द्रमा राखेर हाम्रो सभ्यता र संस्कृतिको विकास भएको छ । यही समग्र सभ्यताको नाम नै नेपाल हो ।
विश्वमा जबसम्म राष्ट्र–राष्ट्रबीचका सिमाना रहिरहन्छन् तबसम्म नेपालभरी यत्रतत्र सबैतिर गुञ्जिनुपर्दछ – सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली, सार्वभौम भई फैलिएका मेची महाकाली, प्रकृतिका कोटी कोटी सम्पदाको आँचल ……।
पशुपति क्षेत्र विकास काेषका सदस्य सचिव डा. प्रदीप ढकालकाे फेसबुकबाट
Facebook Comment