‘विदेशी ज्वाइँ’ लाई तत्काल अंगीकृत नागरिकता नदिने सरकारको अडान

डिसी नेपाल
२६ भदौ २०७६ १५:५६

काठमाडौं। सरकारले तत्काल ‘विदेशी ज्वाइँ’ लाई अंगीकृत नागरिकता दिन नसकिने अडान राखेको छ।  गृहसचिव प्रेमकुमार राईले तत्काल विदेशी ज्वाइँलाई नेपालको अंगीकृत नागरिकता दिने पक्षमा सरकार नरहेको बताएका हुन्।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा महिला सांसदहरुले छोरीले विवाह गरेर ल्याएका ज्वाइँलाई पनि विदेशी बुहारीलाई जसरी नै अंगीकृत नागरिक दिनुपर्ने तर्क गरिरहेका बेला गृह सचिव राईले त्यसका लागि हतारिएर तत्काल निर्णय गर्न नसकिने बताए।

उनले नेपाली पुरुषले विदेशी नागरिकलाई विवाह गरेर ल्याएमा अंगीकृत नागरिकता दिन सकिने तर महिलाले विवाह गरेर विदेशी पुरुष ल्याएमा नागरिकता दिने व्यवस्था गर्न त्यसको असर बारे कम्तीमा पनि चार वर्ष अध्ययन गर्नुपर्ने सरकारको निष्कर्ष रहेको समितिलाई जानकारी गराए।

बैठकमा समितिकी सदस्य यशोदा सुवेदी गुरुङले समानता, न्याय र विभेदरहित कानुन निर्माण गर्नुपर्ने भएकाले पनि महिलाले विवाह गरेका ल्याएका विदेशी नागरिकलाई पनि अंगीकृत नागरिकता दिने गरी कानुन बनाउनुपर्ने अडान राखेकी थिइन्।

गृहमन्त्री प्रेमकुमार राईले नेपाली पुरुषले विदेशी नागरिकलाई विवाह गरेर ल्याएमा अंगीकृत नागरिकता दिन सकिने तर महिलाले विवाह गरेर विदेशी पुरुष ल्याएमा नागरिकता दिने व्यवस्था गर्न त्यसको असर बारे कम्तीमा पनि चार वर्ष अध्ययन गर्नुपर्ने सरकारको निष्कर्ष रहेको बताए।

उनले संविधानमा पनि समानताको हकको प्रत्याभूति गरिएकाले पुरुषले विदेशी विवाह गरे नागरिकता पाउने तर महिलाले विवाह गरेर ल्याएका पुरुषलाई नागरिकता दिन नमिल्ने कानुनी व्यवस्था गर्न नहुने बताइन्।

सत्तारुढ नेकपाकी सांसद समेत रहेकी सुवेदीले पुरुषले विवाह गरेर ल्याएका महिलालाई पनि आवश्यक्ता हेरेरमात्रै अंगीकृत नागरिकताको व्यवस्था गर्नुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराइन्।

सांसद गुरुङको सो मतमाथि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सहमति जनाए। उनले समानतामा आधारित भएर अंगीकृत नागरिकताको व्यवस्था गर्न आफ्नो पार्टीको पनि सहमति हुने बताए।

तर सांसद प्रेम सुवालले भने पुरुष वा महिलाले विवाह गरेर आएका विदेशी नागरिकलाई १५ वर्ष पूरा नभई अंगीकृत नागरिकता दिन नहुने धारणा राखे।

उनले मुलुकको सार्वभौमिकतामाथि आँच आउने काम हुन नदिन पनि विवाह गरेका आएका विदेशी नागरिकलाई तत्काल अंगीकृत नागरिकता दिने काम गर्न नहुने बताए। विदेशी बुहारी वा ज्वाईँलाई तत्कालका लागि भने राष्ट्रिय परिचय पत्र दिए हुने सांसद सुवालको प्रस्ताव छ।
सांसद सुवालले जथाभावी नागरिकता वितरण हुने गरी कानुन निर्माण नगर्न पनि सरकारलाई सचेत गराए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *