गुगल म्याप्सले फेला पार्‍यो- दुई दशकअघि हराएका व्यक्तिको अवशेष

डिसी नेपाल
२७ भदौ २०७६ ७:३४

बीबीसी। दुई दशकअघि हराएका एकजना व्यक्तिको अवशेष गुगल म्याप्समार्फत डुबेको गाडीमा फेला परेको छ। विलियम मोल्ड सन् १९९७ को नोभेम्बर ७ मा फ्लोरिडा राज्यको ल्यानटेनाबाट हराएका थिए। त्यतिबेला उनी ४० वर्षका थिए।

एउटा नाइट क्लब गएका उनी घर फर्केनन्। लगत्तै प्रहरीले अनुसन्धान सुरु गरेपनि त्यो प्रभावकारी रूपमा अघि बढ्न सकेन। २२ वर्षपछि यसै वर्षको अगस्ट महिनामा प्रहरीलाई वेलिङ्गटनको मुन बे सर्कलस्थित एउटा तालमा डुबेको अवस्थामा गाडी रहेको खबर आयो।

गाडी पानीबाट निकालिएपछि त्यसमा मानव कङ्कालको अवशेष फेला पर्‍यो। त्यसको एक हप्तापछि उक्त अवशेष विलियम मोल्डको रहेको पहिचान भएको थियो।

सफल रूपमा छानबिन हुन नसकेका घटनाहरूको विवरण राख्ने चार्ली प्रोजेक्ट नाम गरेको एउटा अनलाइन डेटाबेसका अनुसार एकजना सम्पत्ति सर्वेक्षणकर्ताले गुगल अर्थको प्रयोग गरिरहेका बेला उक्त गाडी देखेका हुन।

“आश्चर्यजनक रूपमा गुगल अर्थको स्याटलाइट तस्बिरमा सन् २००७ देखि एउटा गाडी देखिएको थियो। तर सन् २०१९ सम्म त्यसलाई कसैले पनि याद नगरेको देखिन्छ,” चार्ली प्रोजेक्टको रिपोर्टमा भनिएको छ।

पामबिच काउन्टीका एकजना अधिकारीले विलियम मोल्डले गाडीमाथि नियन्त्रण गुमाएका कारण गाडी तालमा पुगेको हुनसक्ने अनुमान लगाइएको बीबीसीलाई बताए।

यसअघि गरिएका प्रारम्भिक अनुसन्धानका बेला गाडी डुबेको हुनसक्ने भन्ने विषयमा कुनै पनि किसिमको प्रमाण फेला परेको थिएन।

हालसालै पानी चलायमान भएपछि गाडी देखा परेको अधिकारीहरू बताउँछन्। “त्यतिअघि के भएको थियो भन्ने कुरा पत्ता लगाउन गाह्रो छ,” प्रहरी प्रवक्ताले भनिन्।

“हामीलाई के मात्र थाहा थियो भने उनी यो धर्तीबाट हराएका थिए र अहिले आएर उनी फेला परेका छन्।” हराएको रात मोल्ड क्लबबाट स्थानीय समय अनुसार करिब ११ बजेतिर निस्किएको न्याशनल मिसिङ्ग एन्ड अनआइडेन्टिफाइड पर्सन्स सिस्टमको रिपोर्टमा उल्लेख गरिएको छ।

प्राय: शान्त रहने अनि धेरै घुलमिल नहुने स्वभावका मोल्डट क्लबबाट निस्कँदा मादक पदार्थको नसामा भएजस्तो देखिएका थिएनन्। उनी गाडीमा एक्लै निस्केका थिए।

“उनी प्राय: मादक पदार्थ सेवन गर्दैनथिए। तर त्यस दिन उनले मदिरा सेवन गरेका थिए,” रिपोर्टमा उल्लेख गरिएको छ। मोल्डले उक्त रात करिब ११:३० मा आफ्नी प्रेमिकासँग टेलिफोन सम्पर्क गरेका थिए। आफू चाँडै घर पुग्ने बताए पनि उनी त्यसपछि कहिल्यै देखा परेनन्।

मोल्डको परिवारलाई उनको अवशेष फेला परेको खबर गरिएको छ। तर उनकी प्रेमीकालाई भने खबर गरिएको छ या छैन भनेर खुलाइएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *