विराटको त्यो ट्वीट जसले सबैलाई सोच्न बाध्य बनायो धोनीले सन्यास लिदैँछन्

डिसी नेपाल
२७ भदौ २०७६ ९:१९

एजेन्सी । महेन्द्र सिंह धोनी र विराट कोहली दुबै खेलाडीले मैदान भित्र र बाहिर एकअर्कालाई सम्मान दिन्छन्। यसैक्रममा विराटले बिहिबार एक फोटो ट्वीट गरे जसको कारण धोनी सामाजिक संजालमा ट्रेन्ड हुन पुगे। धेरैले धोनीले अब सन्यास लिदैँछन भन्ने सोचे।

विराटले एउटा तस्वीर पोस्ट गरेपछि यस्तो भएको हो। यस पोस्टमा उनले धोनीप्रति आफ्नो सम्मान प्रकट गरेका छन्। कोहलीले ट्वीट गरेको तस्विर भारत र अस्ट्रेलियाबिच मोहालीमा सन् २०१६ मा भएको टि–२० विश्वकप क्रिकेटको हो। तस्वीर शेयर गर्दै उनले लेखेका छन्, ‘म यो म्याचलाई कहिले पनि बिर्सन सक्दिन। त्यो एकदमै खास रात थियो, जब यी मानिसले मलाई फिटनेस टेस्टमा झैं दौडाए’।

यस तस्वीरमा विराट घुँडा मारेर जितको खुशीयाली मनाउँदैछन् भने धोनी उनीतर्फ लम्किरहेका छन्। अस्ट्रेलियाले यस खेलमा भारतलाई १६१ रनको लक्ष्य दिएको थियो र खेल भारतले पाँच बल बाँकी छँदै ६ विकेटले जितेको थियो।

यस खेलमा कोहलीले भारतका लागि सर्वाधिक ८२ रन जोडेका थिए भने धोनीले १० बलमा १८ रनको पारी खेलेका थिए। दुबैले ३१ बलमा अविजित ६७ रनको साझेदारी गरेका थिए। यो तस्वीर पोस्ट भएपछि धेरैले सामाजिक संजालमा धोनीले संन्यासको निर्णय गरेको अनुमान लगाएका छन्। उनीहरूको विचारमा यसको जानकारी धोनीले विराटलाई दिइसकेका छन्।

धोनीले विश्वकप पनि एक म्याच पनि खेलेका छैनन्। टोली वेस्ट इण्डिज भ्रमणमा जाँदा उनी सेनाको साथमा थिए भने दक्षिण अफ्रिकाविरूद्धको सिरिजका लागि पनि धोनीलाई टोलीमा राखिएको छैन्। त्यसकारण पनि उक्त तस्वीरलाई मानिसहरुले धोनीको सन्याससँग जोडेर हेरेका छन्। तर धोनीकी पत्नी साक्षीले भने ट्वीट गर्दै यो हल्ला मात्र भएको जनाएकी छन्। यस्तै बीसीसीआईका प्रमुख छनोटकर्ता एमएसके प्रसादले पनि धोनीले अहिले नै सन्यास नलिने बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *