रियललाई चोटको चिन्ता!

डिसी नेपाल
२७ भदौ २०७६ १०:२५

एजेन्सी । रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई सिजनको सुरुवातमै चोटको समस्याले सताएको छ । विशेषगरी मिडफिल्डमा जिदानका मुख्य खेलाडी चोटका कारण बाहिरिने भएका छन् ।

गत वर्षका ब्यालोन डी’ओर विजेता लुका मोड्रीच मांशपेशीको समस्याका कारण १५ दिन मैदानबाहिर रहने भएपछि उनले कम्तिमा २ खेल गुमाउने पक्का भएको छ । रियलले लिगअन्तर्गत खेलमा लेभान्ते र च्याम्पियन्स लिगको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्दैछ । मोड्रीचको अनुपस्थितिले जिदानलाई मिडफिल्ड छनोटमा निकै समस्या पर्ने देखिएको छ ।

जिदानसँग टोनी क्रुस मात्र शत प्रतिशत फिट मिडफिल्डरका रुपमा रहेका छन् । इस्को अझैपनि चोटका कारण विश्राममा छन् भने हामेस रोड्रीग्वेज पुनरागमन गर्ने तयारीमा छन् । ब्राजिलियन मिडफिल्डर क्यासेमिरोले अन्तर्राष्ट्रिय ब्रेकमा दुई खेल खेलेपछि क्लबमा आएर एक दिन मात्र प्रशिक्षण गरेका छन् । त्यसैले जिदान उनलाई विश्राम दिएर पीएसजी विरुद्ध खेलका लागि बचाउन चाहन्छन् । अर्का मिडफिल्डर फेडे भालभेर्डे पनि उरुग्वेका लागि दुई मैत्रीपूर्ण खेल खेलेर युरोप फर्केका छन् ।

सिजनको सुरुवातमा ड्यानी सेबलोस र मार्कस लोरेन्टेलाई क्लबबाट अन्यत्र पठाएपछि रियलले अर्को मिडफिल्डर अनुबन्ध गर्ने सम्भावना रहेको थियो । म्यानचेस्टर युनाइटेडबाट पल पोग्बा ल्याउने प्रयास सफल हुन नसक्दा रियलको मिडफिल्डमा विकल्प नरहेको हो । अब जिदानले लेभान्तेविरुद्ध खेलमा क्यसेमिरोलाई प्रयोग गर्नुपर्ने स्थिति आएको छ ।

रियलका लागि यस खेलमा ग्यारेथ बेल उपलब्ध हुने छैनन् । उनी भिल्लारियलविरुद्ध खेलमा दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएका थिए । मार्को एसेन्सियो पनि लामो समयका लागि उपलब्ध छैनन् । लुका जोभिच पनि चोटका कारण नखेल्ने सम्भावना बढी छ । इडेन हाजार्डले रियलका लागि लिगमा पहिलो सुरुवात गर्ने सम्भावना रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *