इमरान खानले अमेरिकामाथि लगाए गम्भीर आरोप, भने –‘अमेरिकालाई साथ दिँदा बर्बाद भयौं’
एजेन्सी। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो देशले अमेरिकालाई आतंकवाद विरोधी लडाइँमा साथ दिँदा यसको ठूलो मूल्य चुकाउनुपरेको बताएका छन् । इमरानका अनुसार अमेरिकाले अन्तिममा आएर अफगानिस्तानमा आफ्नो असफलताको दोष पाकिस्तानमाथि थोपरेको छ जुन सही होइन । रशिया टुडेलाई दिएको अन्तरवार्तामा इमरानले आतंकवादविरुद्ध अमेरिकी लडाइँमा पाकिस्तानले व्यहोरेको जनधनको क्षतिबारे उल्लेख गर्दै अमेरिकाले अहिले अफगानिस्तानमा आफ्नो असफलताको दोष इस्लामाबादलाई दिने गरेका बताए ।
इमरानका अनुसार पाकिस्तानले सेप्टेम्बर ११ आक्रमणपछि अमेरिकाको साथ दिँदा निकै ठूलो नोक्सानी व्यहोर्नुपर्यो । उनले भने ‘यदि हामीले सेप्टेम्बर ११ पछि आतंकवादविरुद्ध अमेरिकी युद्धमा भाग नलिएको भए आज हामी संसारको सबैभन्दा खतरनाक देश हुँदैनथ्यौं ।’
अफगानिस्तानमा अमेरिकी आक्रमणबारे इमरानले भने ‘८० को दशकमा जब सोभियत संघले अफगानिस्तानमा आक्रमण गर्यो, त्यसविरुद्ध अफगान मुजाहिदीनलाई पाकिस्तानले प्रशिक्षण दियो जसको लागि पैसा अमेरिकी जासुसी एजेन्सी सिआइएले दिन्थ्यो । एक दशकपछि जब अमेरिकी अफगानिस्तानमा आए त्यसपछि पाकिस्तानका यिनै समूहलाई भनियो कि अब अमेरिका अफगानिस्तानमा आएको छ त्यसैले अब यो जिहाद होइन आतंकवाद हो । यो निकै ठूलो विरोधाभास थियो ।’
इमरानले अगाडि भने ‘मलाई लाग्छ कि पाकिस्तानले उदासिन रुख अपनाउनु पथ्र्यो । अफगान युद्धमा सामेल भएका कारण यी समूह हाम्रो विरुद्ध भए ।’ इमरानका अनुसार उनको देशले ७० हजार नागरिकको ज्यान गुमायो र अर्थव्यवस्थालाई १०० अर्ब डलरको नोक्सानी भयो । अन्त्यमा अफगानिस्तानमा असफल भएपछि अमेरिकीलाई होइन पाकिस्तानलाई जिम्मेवार ठहर्याइयो । यो पाकिस्तानमाथि अन्याय हो ।
यही साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको सहयोगमा आयोजना गरिएको अफगान तालिबान वार्ता रद्द गरेका थिए । ट्रम्पले तालिबानसँग शान्ति वार्ता रद्द गर्नुको पछाडि काबुलमा भएको तालिबानी आक्रमणलाई कारण बताएका थिए जसमा एक अमेरिकी सैनिकसहित १२ जनाको ज्यान गएको थियो ।
Facebook Comment