रियल मड्रिडमा १ जना मिडफिल्डर मात्र पूर्ण फिट, महत्वपूर्ण खेलअघि संकट

डिसी नेपाल
२७ भदौ २०७६ १६:४१

काठमाडौं। स्पेनिस क्लब रियल मड्रिड ला लिगा अन्तर्गत शनिबार लेभान्टेविरुद्ध र बिहीबार च्याम्पियन्स लिगको पहिलो खेलमा पिएसजीविरुद्ध खेल्दै छ। तर महत्वपूर्ण खेलका बेला मड्रिडमा मिडफिल्डमा खेल्ने खेलाडीको अभाव देखिएको छ।

मिडफिल्डका प्रमुख खेलाडी लुका मोडरिक घाइते छन्। जसले उनी अझै १५ दिन खेल्न नसक्ने बताइएको छ। यसैले प्रशिक्षक जिनेदिने जिदानले लेभान्टे र पिएसजीविरुद्ध बनाइरहेको योजना नै फेर्नुपर्ने देखिन्छ।

हाजार्ड, इस्को र जेम्स रोड्रिग्वेजसमेत घाइते रहेको रियल मड्रिडमा मिडफिल्डमा त अहिले टोनि क्रुस मात्रै पूर्ण फिट छन्। यस्तै क्यासेमिरो शनिबारको खेलअघि अहिलेसम्म एक दिन मात्रै अभ्यासमा सामेल भएका छन्।

क्यासेमिरो अन्तर्राष्ट्रिय खेलमा पेरु र कोलम्बियाविरुद्ध खेलेर भर्खरै फर्किएकाले उनलाई आराम दिने जिदानको योजना थियो। तर त्यो असम्भव देखिएको छ। फेडे भालभर्दे पनि उरुग्वेबाट दुई अन्तर्राष्ट्रिय खेलमा सामेल भएर भर्खरै क्लब फर्किएका हुन्।

यसैले आराम दिनुपर्ने खेलाडीलाई पनि खेलाउन प्रशिक्षक जिदान बाध्य छन्। उनले क्रुससँगै क्यासेमिरो र भालभर्देमध्ये एकलाई खेलाउनै पर्ने देखिएको छ। ला लिगामा लेभान्टेविरुद्ध भन्दा पनि विशेषतः च्याम्पियन्स लिगमा पिएसजीविरुद्ध जिदानको योजना बलियो हुन आवश्यक छ।

च्याम्पियन्स लिगमा ४–४–२ को फर्मेसनमा योजना बनाइरहेका उनले ग्यारेथ बेल र लुकास भासक्वेजसँगै मिडफिल्डमा क्रुस र क्यासेमिरो साथै अगाडि करिम बेन्जेमा र इडन हाजार्डलाई खेलाउने योजना बनाइरहेका छन्। त्यसका लागि हाजार्ड पूर्ण फिट हुने प्रतिक्षामा छन्।

यसै सिजनमा मात्रै फर्लान्ड मेन्डी, जेम्स रोड्रिग्वेज, इस्को, इडन हाजार्ड, थियाबट कोर्टुवा, लुका जोभिक, राड्रिगो गोज, ब्राहिम डियाज र मार्को एसेन्सिसो घाइते भएका छन्। त्यसमा पनि मिडफिल्डमा रहेका जम्मा ६ खेलाडीमा एक खेलाडी मात्रै पूर्ण फिट छन्।

यसैले ला लिगामा लेभान्टे र च्याम्पियन्स लिगमा पिएसजीसँग मात्रै होइन रियल मड्रिडले १७ दिनमा ६ खेल खेल्नुपर्नेछ। त्यसमा सेभिया, ओसासुना, एथ्लेटिको मड्रिड, क्लब ब्रुगेसँगका खेलमा पनि जिदानको मिडफिल्ड समस्या कम हुने छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *