क्रिकेट संघमा राखेपको हस्तक्षेपप्रति जिल्ला क्रिकेट संघहरुको आपत्ति

डिसी नेपाल
२७ भदौ २०७६ १८:४७

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को आगामी असोज ३ र ४ गते काठमाडौंमा हुने भनिएको विशेष साधारण सभा रोक्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निर्देशन दिएपछि विभिन्न जिल्ला क्रिकेट संघहरुले आपत्ति जनाएका छन्।

हाल निलम्बनमा रहेको क्यानको विशेष साधारण सभा भए अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले निलम्बन फुकुवा गर्ने सम्भावना रहेकोमा राखेपको हस्तक्षेपपछि नेपाली क्रिकेटमाथिको संकट फेरि बढ्ने देखिएको छ। आईसीसीले बनाएको स्वतन्त्र समितिले क्यानको विशेष साधारण सभाको मिति तोकेको थियो । तर, राखेपले भने आफुसँग अनुमति नलिई साधारण सभाको मिति तोकेको भन्दै त्यसलाई मान्यता नदिने व्यहोराको पत्र आईसीसीलाई पठाएको चर्चा छ भने राखेप सदस्य सचिब रमेश सिलवालले स्वतन्त्र समितिले तोकेको मितिमा क्यानको साधारण सभा हुन नसक्ने बताइसकेका छन्।

राखेपको हस्तक्षेपपछि आगामी असोज पहिलो हप्ता हुने भनिएको साधारण सभा अन्योलमा परेपछि विभिन्न जिल्ला क्रिकेट संघहरुले राखेपको कदमको भत्सर्ना गरेका हुन्।

जिल्ला क्रिकेट संघ, सुर्खेत, जिल्ला क्रिकेट संघ बर्दिया, जिल्ला क्रिकेट संघ सुनसरी, जिल्ला क्रिकेट संघ कञ्चनपुर र जिल्ला क्रिकेट संघ कैलालीले राखेपको हस्तक्षेपको विरोध गरेका छन्। ती संघहरुले शुक्रबार विज्ञप्ति जारी गर्दै क्यानको साधारण सभा नरोक्नसमेत अपील गरेका छन्।

राखेप सदस्य सचिब सिलवालकै कारण नेपाल क्रिकेट संघ निलम्बनमा परेको थियो। तत्कालीन निर्वाचित क्यानलाई राखेपले खारेज गर्दै सिलवाललाई क्यानको अध्यक्षमा मनोनयन गरेपछि क्यानमा विवाद भएको थियो। अनावश्यक हस्तक्षेप भएको भन्दै आईसीसीले क्यानलाई निलम्बन गरेर व्यवस्थापनको जिम्मेवारी लिएको थियो। उनै सिलवाल राखेपको हर्ताकर्ता भएका बेला निलम्बन फुकुवको सम्भावना फेरि टर्दै गएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *