नरैनापुरलाई हुलाकी शहरका रुपमा विकास गरिने

डिसी नेपाल
२७ भदौ २०७६ २३:३६

राँझा । शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले बाँकेको नरैनापुरलाई हुलाकी शहरका रुपमा विकास गरिने बताएका छन्।

नरैनापुर गाउँपालिकामा नवनिर्मित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र भवनको आज उद्घाटन गर्दै मन्त्री राईले नरैनापुरलाई १० वर्षभित्र हुलाकी शहरका रुपमा विकास गर्न प्रत्येक वर्ष रु एक अर्बका दरले बजेट छुट्याइने बताए।

गत आवमा नरैनापुरका ३०० घरलाई फुसरहित बनाउन बजेट विनियोजन गरिएको बताउँदै मन्त्री राईले अबको तीन वर्षभित्र सबै घरलाई फुसरहित बनाइने दाबी गरे।

मन्त्री राईले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पताल बनाउने योजना स्वीकृत भइसकेकाले अब थप भौतिक पूर्वाधार निर्माणका साथै दक्ष र पर्याप्त जनशक्ति व्यवस्थापनमा कुनै कमी हुन नदिइने बताए।

पन्ध्र श्ययाको अस्पताल बनेपछि नरैनापुरवासीले उपचारको लागि नेपालगञ्ज पुग्न नपर्ने मन्त्री राईको भनाइ थियो। उनले सरकारले नरैनापुरलाई जोखिमयुक्त बस्ती घोषणा गरेर काम गर्ने बताए।

तीन करोड १९ लाखको लागतमा बनेको नरैनापुर गाउँपालिका–२ लक्ष्मणपुरस्थित लक्ष्मणपुर स्वास्थ्य केन्द्र भवन निर्माणका लागि २०६८ भदौ २० गते १८ महीनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि आठ वर्षपछि मात्र भवन निर्माण सम्पन्न भएको सङ्घीय शहरी विकास आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका प्रमुख सुवास बस्नेतले बताए।

उनका अनुसार, भवन गाउँपालिकालाई हस्तान्तरण गरिसकिएको छ। लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना एमबिबिएस डाक्टरहित १३ जनाको दरबन्दी रहेको छ।

प्रतिफल प्राप्त हुने गरी अनुदान दिइने

प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले कृषिमा प्रतिफल प्राप्त हुने गरी अनुदान दिने बताए।

नेपालगञ्जमा साना किसानको पश्चिमस्तरीय क्षेत्रीय सम्मेलनमा मन्त्री केसीले सरकारले प्रदेश नं ५ को कृषिको उत्पादकत्व र उत्पादनका लागि किसानका जस्तोसुकै समस्या समाधानका लागि तयार रहेको बताए। उनले भने, ‘‘अब किसानले उत्पादन गर्ने र सरकारले बजारीकरणका लागि सहयोग गर्ने छ।’

विदेशबाट आयात हुुने सामानहरुलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै उनले स्थानीय उत्पादनलाई प्रवद्र्धन र बजारीकरण गर्न सके मात्र राष्ट्र समृद्ध हुने उल्लेख गरे।

प्रदेश नं ५ सरकारले ठाउँ विशेषको उत्पादनलाई पनि प्रोत्साहन गर्न तयार रहेको मन्त्री केसीले बताए। प्रदेशका ५२ वटा स्मार्ट कृषिमा गरिएको लगानी र कृषकको मेहनत यस वर्ष परिणाममा देखिने समेत उनको दाबी छ।

प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका गरी एक सयभन्दा बढी साना किसानको सहभागिता रहेको कार्यक्रममा प्रदेश नं ५ का प्रदेश योजना आयोगका सदस्य पुष्पा भुषालले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेर योजना बनाएको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *