स्वास्थ्य सेवाका लागि प्रतिबद्ध छौँ : मन्त्री बराल

डिसी नेपाल
२८ भदौ २०७६ २२:१५

बुटवल । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुँचमा पुर्याउन सरकारले प्रयत्न गरिरहेको बताएका छन्।

नेपाल औषधि व्यवसायी सङ्घ रुपन्देहीको प्रथम साधारणसभा तथा अधिवेशनलाई आज बुटवलमा सम्बोधन गर्दै उनले जनताको प्रत्यक्ष जीवनसँग जोडिएको स्वास्थ्य क्षेत्रलाई जनताको पहुँचमा पुर्याउन सबैले सहकार्य गर्न जरुरी रहेको बताए।

उनले सरकार, निजी क्षेत्र र नागरिक समाज मिलेर स्वास्थ्यका क्षेत्रमा विकास र विस्तार गर्न सकिने धारणा राखे। कार्यक्रममा औषधि व्यवसायीहरुले घरभाडाको मनोमानी वृद्धिले मारमा परेको गुनासो गरेका थिए। महङ्गो भाडादरले व्यवसायीहरु समस्यामा परेका कारण भाडादर निश्चित गर्न उनीहरुले प्रदेश सरकारसँग माग गरे।

कार्यक्रममा नेपाल औषधि व्यवसायी सङ्घका निवर्तमान अध्यक्ष बाबुराम भट्टराई, सङ्घका सल्लाहकार रोहितराज क्षेत्री, सङ्घका अध्यक्ष शिव ज्ञवाली, संयोजक सुरज भट्टराईले सङ्घीय ढाँचाअनुसार प्रदेशमै व्यवसाय दर्ता र नवीकरणको व्यवस्था मिलाउन माग गरे।

पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी र रुपन्देही व्यापार सङ्घका अध्यक्ष पदम श्रेष्ठले जनताको जीवनसँग जोडिएको व्यवसाय भएका कारण यसलाई मर्यादित र अझै जिम्मेवार बनाउन सुझाव दिए।

सङ्घमा नयाँ नेतृत्वका लागि आजै निर्वाचन भएको छ। अध्यक्षमा सुरज भट्टराई र जवाहरलाल न्यौपानेबीच प्रतिष्पर्धा भएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *