सदावहार वसन्त
काठमाडौं। यस्तो लाग्छ, वसन्त श्रेष्ठ नाच्न अनि नचाउनकै लागि जन्मिए। ४० वर्ष भएको छ, उनी चलचित्र नृत्य निर्देशनमा लागेको। ‘सिन्दुर’चलचित्रको गीत ‘आहा बनमा फुल्यो फूलैफूल’मा नायिका मिनाक्षी आनन्द र नायक विश्व बस्नेतलाई नचाएर नृत्य निर्देशनको यात्रा शुरु गरे।
त्यहाँदेखि हालसम्म आउँदा उनको सक्रियता कहिल्यै घटेन्। त्यसैले त केही दिनपछि प्रदर्शनमा आउने ‘रातो टीका निधारमा’को शीर्ष गीतमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नब अभिनेता अंकित शर्मालाई उनैले नचाए।
चार दशकमा नेपाली चलचित्रमा धेरै कोरियोग्राफर आए। धेरै पलायन भए। केही मात्र सक्रिय रहे। निरन्तर सक्रिय रहनेमध्ये अग्रप्रक्तिको नाम हो, वसन्त। त्यसैले त उनको सक्रियता देखेर धेरैले भन्छन्– सदावहार वसन्त।
केही दिनअघि कुमारी हलमा चलचित्र ‘रातो टीका निधारमा’को कार्यक्रममा पुगेका अतिथिलाई उनैले निधारमा रातो टीका लगाइदिए। त्यहाँ पनि देखिन्थ्यो उनको जोश, जाँगर अनि चलचित्रप्रतिको उमंगता।
वसन्तले रंगमञ्चबाट यो यात्रा शुरु गरे। विं.सं. २०२० को दशकको शुरुबाटै रंगमञ्च उनी रंगमञ्चमा जोडिए। नेपाल प्रज्ञा प्रतिष्ठानमा नृत्य सिके, नाचे, सिकाए अनि कोरियोग्राफी गर्न थाले।
२०२५/२६ सालतिर चलचित्र ‘माइतीघर’को गीतमा कोरसको भूमिकामा झुर्लक्क देखिने अवसर पाए। त्यसपछि भने उनलाई लाग्यो, चलचित्रमा कोरियोग्राफी गर्न पाए त! तरपनि सोँचेर मात्र कहाँ हुन्छ र ! उनी केही वर्ष रंगमञ्चमै रमाए।
वसन्तले २ सयभन्दा बढी चलचित्रमा कोरियोग्राफी गरिसकेका छन्। राजेश हमाल, शिव श्रेष्ठ, भुवन केसी, श्रीकृष्ण श्रेष्ठ, करिष्मा मानन्धर, रेखा थापा, निरुता सिंहदेखि अहिलेका नयाँ कलाकार वर्षा राउत, साम्राञी राज्यलक्ष्मी शाह, अंकित शर्मासम्मलाई उनले नचाएका छन्।
केही वर्षपछि उनलाई चलचित्र कोरियोग्राफीको अवसर आयो। ‘पहिलो पटक सिन्दुर चलचित्रमा कोरियोग्राफी गर्नै मौका पाए’ उनी सम्झन्छन् ‘रंगमञ्चमा रमाउँदै गरेको मलाई चलचित्रका बारेमा केही थाहा थिएन।
काम गर्दा म जति उत्साहित थिए, मनमा डर पनि उत्तिकै थियो।’ यो कुरा २०३५र३६ सालतिरको हो। प्रकाश थापाको निर्देशन रहेको ‘सिन्दुर’ तारादेवीको स्वरमा ‘आहा बनमा फुल्यो फूलैफूल’गीतमा नायिका मिनाक्षी आनन्द र नायक विश्व बस्नेतलाई वसन्तले नचाए।
त्यो क्षण आँखामा अझैपनि ताजै छ । भन्छन्, –‘त्यो गीत पाल्पा तानसेनमाथि डाँडाको जंगलमा खिचिएको थियो।’ पहिलो चलचित्रमा निकै मेहनतका साथ काम गरे। धेरै कुरा सिक्ने अवसर पनि पाए। भन्छन् –‘पहिलो भएपनि सबैले मेरो काम रुचाउनुभएको थियो।’
खुवी र कामको प्रभाव देखियो। उनी प्रकाश थापाकै चलचित्र ‘जीवनरेखा’मा कोरियोग्राफरमा दोहोरिए। रंगमञ्चमा त व्यस्त थिए, चलचित्रमा पनि ब्यस्तता बढ्दै गयो। उनले अविछिन्न चलचित्रमा कोरियोग्राफी गर्नुपर्यो।
बीचमा केही चलचित्रमा कोरियोग्राफी गरिसकेपछि वि.सं २०३९/४० सालताका कोरियोग्राफी सिक्न एकवर्ष इटाली बसेको वसन्त बताउँछन्। त्यहाँबाट फर्केपछि पनि उनको निरन्तरता चलचित्र कोरियोग्राफीमै रह्यो।
चलचित्रमा ब्यस्त भईरहँदा प्रज्ञा प्रतिष्ठानमा पनि आवद्ध थिए। वसन्त २०५२ सालसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा आबद्ध रहे। त्यहाँ रहँदा उनले थुप्रै गिती नाटक, नृत्य नाटीकाहरूमा नृत्य गरे, कोरियोग्राफी गरे।
प्रख्यात गिती नाटक ‘मालती मंगले’ वसन्तकै निर्देशन थियो। राष्ट्रकवि माधवप्रसाद घिमिरेले सो गिती नाटक लेखेका थिए। त्यसमा संगीत अमर गुरुङको थियो भने स्वर नारायण गोपाल, तारादेवी लगायतको।
२०५२ सालमा उनले प्रज्ञा प्रतिष्ठान छाडे। त्यसयता भने चलचित्र क्षेत्रमै बढी ब्यस्त बने। ‘त्यसपछि पनि अहिलेसम्म कहिल्यै खाली बस्नुपरेन्’– उनी भन्छन्।
‘चौकादाउ’हुँदै ’रातो टीका निधारमा’सम्म आइपुग्दा वसन्तले २ सयभन्दा बढी चलचित्रमा कोरियोग्राफी गरिसकेका छन्। राजेश हमाल, शिव श्रेष्ठ, भुवन केसी, श्रीकृष्ण श्रेष्ठ, करिष्मा मानन्धर, रेखा थापा, निरुता सिंहदेखि अहिलेका नयाँ कलाकार वर्षा राउत, साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मासम्मलाई उनले नचाएका छन्।
आज चलचित्रबाट पाएको सम्मानबाट उनी खुःसी छन्। यही क्षेत्रबाट उनी देश–विदेश पुगेका छन्। थुप्रै राष्ट्रिय पुरस्कार पाएका छन। उनी कामलाई नै भगवान मान्छन्। भन्छन् –‘आज जहाँ छु यही क्षेत्रबाटै भएको हो। मलाई यही क्षेत्रले चिनाएको हो। त्यसैले म यो क्षेत्रलाई आफ्नो भगवान सम्झन्छु,।’ उनको एउटा कामनासंगै ईच्छा छ, आफ्नो मरण पनि यही क्षेत्रमा होस्।
‘जीवन नै यही क्षेत्रमा समर्पित गरेँ। अब मेरो मरण पनि यही क्षेत्रमा काम गर्दागर्दै होस्’–कुराकानीको बिट मार्दै उनले भने।
Facebook Comment