सम्भावनाका क्षेत्रहरु विश्वमाझ पुर्याउन ‘सगरमाथा संवाद’ : मन्त्री ज्ञवाली
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालले आफ्ना सम्भावनाका क्षेत्रहरुलाई विश्वमाझ पुर्याउन ‘सगरमाथा संवाद’ नामक अन्तराष्ट्रिय स्तरको मंच स्थापना गर्नु परेको बताएका छन् । मन्त्री ज्ञवालीले विश्व शान्ति स्थापनामा नेपालले पुर्याएको योगदानको चर्चा गर्न पनि सो मंच उपयोगी हुने विश्वास व्यक्त गरे ।
‘सगरमाथा संवाद’ राष्ट्रिय परामर्श गोष्ठीलाई बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले हाम्रा शान्ति प्रक्रियाका मौलिक अनुभव, भूकम्पपछि पुनर्निर्माण कार्यमा भएको तीव्रता, लैगिङ तथा समावेशी क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धि तथा त्यसका लागि तय गरिएका नीति, कार्यक्रमबारे अन्तराष्ट्रिय समूदायलाई जानकारी गराउन पनि सो मंचको स्थापना गरिएको बताए।
२/२ वर्षमा आयोजना हुने गरी तय गरिएको सो कार्यक्रम अन्तरगत यस वर्ष सरकारले जलवायु परिवर्तनको विषयमा छलफल गर्नेछ । मन्त्री ज्ञवालीले जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्नका लागि विश्वलाई नै अपिल गर्न नेपालले यस वर्षको ‘सगरमाथा संवाद’ कार्यक्रममा सोही विषयमा छलफल गर्न लागेको पनि स्पष्ट पारे।
परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले शान्तिपूर्ण ढंगले ल्याएको राजनीतिक परिवर्तन पनि विश्वका लागि नमूनायोग्य कदम भएको दावी गरे।
Facebook Comment