बाह्य दबाव र प्रभावमा नपर्न आफ्नै संसद भवन : प्रधानमन्त्री ओली

डिसी नेपाल
२ असोज २०७६ १४:४४

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य दबाव र प्रभाव पर्न नदिन संघीय संसद भवन सरकारले आफ्नै लगानीमा बनाउन सुरु गरेको बताएका छन्।

संसद भवन बनाउन ठूलो लगानी गरेको भन्दै सरकारको चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले देशको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था, नीति, निर्माण गर्ने संस्था त्यसलाई स्वतन्त्र ढंगले अघि बढाउन पनि आफ्नै लगानीमा सो भवन निर्माण गर्न लागिएको प्रष्टयाएका हुन्।

‘हामीले भन्यौं, हाम्रो संसद भवन अरुको सहायतामा निर्माण गर्दैनौं। सो संसद भवन बनाउन पनि अरुको सहयोग पाउन सक्थ्यौं,’ प्रधानमन्त्री ओलीले थप प्रष्टयाए, ‘तर देशको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था, जो अत्यन्त स्वतन्त्र ढंगले कुनै प्रकारको कसैको दायित्व, उत्तरदायित्व, दवाव जस्ता कुराहरु नलिईकन कुनै पनि प्रकारको प्रभावमुक्त राख्नुपर्ने भएकाले संसद भवन आफ्नै लगानीमा निर्माण गर्न सुरु गरियो।’

बिहीबार बालुवाटारमा नयाँ प्रधानमन्त्री निवास भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले संसद भवनमा ठूलो लगानी भयो भनेर आएको टिप्पणीलाई नकारात्मक मानसिकताको संज्ञा दिँदै त्यसो गर्नु जायज नहुने बताए।

प्रधानमन्त्री ओलीले नयाँ प्रधानमन्त्री निवास आफ्नो लागि नभएको बताए। ‘म अहिले ४१ औं प्रधानमन्त्री छु,’ प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘यो भवनमा २ सय ४१ औं प्रधानमन्त्री पनि बस्न पाउनुहुन्छ। यो भवन रंगरोगन गर्दागर्दै मेरो कार्यकाल सकिन्छ र म पछिका प्रधानमन्त्रीहरु बस्न पाउनुहुन्छ।’

त्यस अवसरमा उहाँले अवका प्रधानमन्त्री छिटोछिटो परिवर्तन नहुने बताए। प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल भने सो भवन निर्माण कार्य हुँदैगर्दा बित्ने भएकाले नयाँ प्रधानमन्त्रीले भने सो भवनमा शान्तसँग बस्न पाउने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *