इण्डो–नेपाल पिकलबल भोलीबाट

डिसी नेपाल
२ असोज २०७६ १८:२६

काठमाडौं। नेपालमा नौलो खेलको सुरुवातको रुपमा रहेको इण्डो–नेपाल पिकलबल च्याम्पियनसिप शुक्रबारबाट हुने भएको छ ।

ग्यालेक्सि स्कुलमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका २० र भारतका २० गरी ४० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । पुरुष र महिला गरी एकल तथा युगल एवं मिश्रित जोडी गरी पाँच विधामा प्रतिस्पर्धा गराइने नेपाल पिकलबल संघका अध्यक्ष उमेश आचार्यले जानकारी गराए ।

अमेरिकाबाट शुरु भएको तथा युरोप, एशिया र दक्षिण एशियाको भारतमा समेत चर्चित भइसकेको खेल नेपालमा पनि विकास र विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको एशियन पिकलबल संघका महासचिव अमित कुमार राणाले जानकारी गराए । उनी उक्त प्रतियोगिताका लागि नेपाल आइसकेका छन् । नेपालमा यस खेलको विकास र विस्तार गर्ने उद्देश्यले सन् २०२० मा एक अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्ने सोँच बनाएको महासचिव राणाले बताए ।

यसका साथै भारतीय खेलाडीहरु बिहीबार नेपाल आईपुग्ने नेपाल पिकलबल संघका अध्यक्ष आचार्यले जानकारी गराए । नेपालले यसअघि देहरादुनमा इण्डो–नेपाल पिकलबल च्याम्पियनसिपमा सहभागिता जनाइसकेको छ ।

ब्याडमिन्टन, टेनिस र टेवलटेनिसको मिश्रीत रुप रहेको यस खेल ब्याडमिन्टन कोर्टमा टेनिसको झै नेट र टेबलटेनिसको जस्तै फाईबरको ¥याकेटको प्रयोगले खेलको लागि निर्मित प्लास्टिकबलले टेनिस जस्तै गरि खेलिने छ । टेबलटेनिसमा जस्तै ११ अंकका आधारमा खेलाइने छ ।

सबै उमेरका लागि योग्य यस खेल युरोप र अमेरिकामा निकैनै लोकप्रिय हुनुका साथै एशियामा चाईना, जापान, कोरिया, थाईल्याण्ड, सिंगापुर, भारत लगायत १८ देशमा निकैनै लोकप्रिय रहेको महासचिव राणाले जानकारी गराए । यो खेल कभर्डहल र खुला भुभागमा हार्डकोर्टमा समेत खेल्न सकिने र सबै उमेर समूहका लागि योग्य भएका कारण यस खेलले नेपालमा पनि छिटैनै लोकप्रियता हासिल गर्नेमा आफु विश्वस्त रहेको महासचिब राणाले बताए ।

प्रतियोगिताको उद्घाटन शुक्रबार बिहान १० ः ०० बजे ग्यालेक्सि स्कुलमा हुने नेपाल पिकलबल संघका अध्यक्ष उमेश आचार्यले जानकारी गराए । यस्तै प्रतियोगिताको समापन तथा पुरस्कार वितण शनिबार दिनको ३ ः ०० बजे हुने कार्यक्रम रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *