‘जनताको अधिकारको लागि लड्ने नेता’

डिसी नेपाल
२ असोज २०७६ २३:५५

काठमाडौं । विसं २०४६ को जनआन्दोलनका कमाण्डर स्व गणेशमान सिंह जनताको हक र अधिकारलाई केन्द्रबिन्दुमा राख्ने नेता भएको आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन्।

स्व गणेशमान सिंहको २२ औँ स्मृति दिवसका अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आयोजना गरेको ‘गणेशमान सिंहको अभिप्रेरणा अधिनायकवाद, कुशासन र भ्रष्टाचारविरुद्धको अभियान’ विषयक अन्तक्र्रियामा वक्ताले राजनीतिमा देशको समृद्धि र जनताको अधिकारको लागि लड्ने नेता सिंह भएको बताएका हुन्।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सिंह व्यक्तिगत पदका लागिभन्दा पनि देशको विकासका लागि दृढसङ्कल्प भएर लाग्ने नेता भएको बताए।

“गणेशमानजीलाई नपुग्ने कुरा केही थिएन, सुःख सुविधाका साथ बस्न सक्नुहुन्थ्यो तर नेपाली जनताको अधिकारका लागि कैयौँ पटक जेल बस्नुभयो”, उनले भने।

पूर्वमन्त्री होमनाथ दाहाल नेपाली राजनीतिमा स्व सिंह त्यागी नेता भएको बताउँछन्। “आन्दोलन सफल भएपछि राजाले प्रधानमन्त्री पद दिँदासमेत लिन नमान्ने सिंहको जीवनबाट नेपाली राजनीतिक दलका नेताले पाठ सिक्नुपर्छ”, उनी भन्छन्।

प्राध्यापक कृष्ण खनाल विषम परिस्थितिमा देशलाई निकास दिन स्व सिंहले विसं २०४६ को जनआन्दोलनको नेतृत्व गरेको बताउँछन्।

“कम्युनिष्ट सहकार्य ठीक हो या हैन भन्ने बहस चलेको बेला गणेशमानजीले कम्युनिष्टलाई एक ठाउँमा ल्याएर जनआन्दोलनको नेतृत्व गरेका थिए।”, उनी भने।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोखरेल राजनीतिमा समर्पण गर्ने व्यक्ति स्व गणेशमानजी भएको बताउँछन्।

“गणेशमानजी सुशासन र भ्रष्टचार विरोधी हुनुहुन्थ्यो”, उनी भन्छन्। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य प्रजातान्त्रिक पद्धति मान्ने काङ्ग्रेसले पार्टीभित्र प्रजातान्त्रिक पद्धतिलाई अवलम्बन गर्न नसकेको बताउँछन्।

“नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दललगायत भ्रातृ तथा शुभेच्छुक संस्थामा खराबी देखिएको छ”, उनी भन्छन्। पूर्वसांसद रामहरि खतिवडा प्रजातान्त्रिक पद्धतिलाई कमजोर बनाउन वर्तमान सरकार लागेको आरोप लगाउँछन्।

“काङ्ग्रेस पार्टीभित्रको आन्तरिक राजनीतिमा अल्मलिँदा सरकारका विरुद्ध बलियो रुपमा प्रस्तुत हुन सकेन”, उनी भन्छन्। प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ समृद्ध नेपाल, सुखी नेपालीको नारालाई पूरा गर्न वर्तमान सरकारले गणेशमान सिंहको योगदान बिर्सन नहुने बताउँछन्।

काङ्ग्रेस नेतृ राधा घले पार्टीभित्र आन्तरिक एकता नहुँदा पार्टीले कस्ता मुद्दालाई प्राथमिकतामा राख्ने भन्नेबारे अलमल सिर्जना हुँदै गएको बताउँछन्।

विसं १९७२ कात्तिक २४ गते जन्मेका सिंहको विसं २०५४ असोज २ गते काठमाडौँमा निधन भएको थियो।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *