सरकारले तोकेभन्दा बढि शुल्क फिर्ता गर्ने सहमतिपछि चितवन मेडिकल कलेजको आन्दोलन फिर्ता

डिसी नेपाल
४ असोज २०७६ १८:३८

काठमाडौं । सहमतिपछि विगत ३ हप्तादेखि जारी रहेको चितवन मेडिकल कलेजका विद्यार्थीको आन्दोलन फिर्ता भएको छ। सरकारले तोकेको भन्दा बढी शुल्क ३० दिनभित्र फिर्ता वा समायोजन गर्न चितवन मेडिकल कलेजले सहमति गरेको छ। यो सहमतिपछि विद्यार्थीको आन्दोलन फिर्ता भएको हो।

जिल्ला प्रशासन कार्यालय चितवनमा शनिबार आन्दोलनरत विद्यार्थी, चितवन मेडिकल कलेज र विद्यार्थीका प्रतिनिधिको त्रिपक्षीय वार्ता भएको थियो।

बैठकले शुल्कसम्बन्धी अध्ययन गर्न जिल्ला प्रशासन कार्यालय र शिक्षा कार्यालयका एक–एक जना प्रतिनिधि, चितवन मेडिकल कलेजका दुई जना प्रतिनिधि, आन्दोलनरत विद्यार्थीका दुई जना प्रतिनिधि र अभिभावकको तर्फबाट एक जना प्रतिनिधि रहेको कार्यदल गठन गरेको छ । कार्यदलले थप शुल्क लिए नलिएको अध्ययन गरेर असोज १० गतेभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन बुझाउने छ । प्रतिवेदनअनुसार थप कदम चाल्ने सहमति भएको चितवन मेडिकल कलेजका प्रमुख सञ्चालक हरिशचन्द्र न्यौपानेले जानकारी दिए ।

आन्दोलनरत विद्यार्थीका अगुवा प्रकाश चन्दले भने सहमति कार्यान्वयन नभए फेरि आन्दोलन थाल्ने बताए । उनले भने, ‘सहमति हुँदैमा कार्यान्वयन भइहाल्छ भन्ने विश्वास छैन, यदि कार्यान्वयन भएन भने फेरि आन्दोलन अघि बढाउँछौं ।’ सहमतिसँगै आइतबारबाट नै पठनपाठन सुरु हुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *