‘कबड्डी कबड्डी कबड्डी’को बम्पर व्यापार, दुई दिनमा कमायो ३ करोड २५ लाख

डिसी नेपाल
५ असोज २०७६ ९:३९

काठमाडौं। गएको जेठमा प्रदर्शनमा आएको ‘जात्रै जात्रा’पछि सुस्ताएको नेपाली चलचित्रको ब्यापारलाई गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले चलाएमान बनाएको छ।

प्रदर्शनको पहिलो दिन १ करोड ४७ लाख रुपैयाँको व्यापार गर्दै वर्षकै सबैभन्दा बढी ओपनिङ कमाई हासिल गरेको चलचित्रले दोस्रो दिन १ करोड ७८ लाखको ब्यापार गरेको वितरक कम्पनी स्टेशन फाइभले फेसबुकमार्फत जनाएको छ।

दुई दिनमा चलचित्रले ३ करोड २५ लाखको ब्यापार गरेको हो।

शनिबार बिहानैदेखि सिंगल तथा मल्टिप्लेक्स हलहरुमा चलचित्र हेर्न दर्शकको घुँइचो लागेको थियो।

शनिबार चलचित्र यूनिट राजधानीका विभिन्न हल पुगेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरेको थियो। अभिनेता दयाहाङ राई, अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल लगायतका कलाकारहरु गोपीकृष्ण हल पुग्दा दर्शकको भीड थामिनसक्नु थियो।
अभिनेत्री उपासना सिंह ठकुरीले चलचित्र यूनिटसँग गोपिकृष्ण हल परिसरमै जन्मदिन मनाएकी थिइन्।

माउथ पब्लिसिटी पनि राम्रो भएको हुनाले चलचित्र लामो रेशको घोडा बन्ने चलचित्रकर्मीहरु बताउँछन्। चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *