एएफसी यू–१६ छनोटको अन्तिम खेलमा श्रीलंकासँग भिड्दै नेपाल

डिसी नेपाल
५ असोज २०७६ ९:४४

काठमाडौं । जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको चौंथो तथा अन्तिम खेलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । अघिल्ला ३ खेलमा १ अंक जोडेको नेपालले चौंथो खेलमा श्रीलंकासँग खेल्न लागेको हो । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ ।

अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा श्रीलंकाविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । चिरपरिचित प्रतिद्वन्द्वी श्रीलंकालाई नेपालले पराजित गर्दै आइरहेको छ । त्यसैले छनोटबाट बाहिरिसकेको नेपाल एक जित निकाल्दै घर फर्कन चाहन्छ । नेपाल तालिकाको चौंथो स्थानमा छ ।

यता, श्रीलंका पनि नेपालविरुद्ध पहिलो अंकको खोजीमा हुनेछ । प्रतियोगितामा श्रीलंका अंक जोड्न नसक्ने एक्लो टिम हो । श्रीलंका पुछारमा रहेको छ । छनोटको समूह ए मा रहेको नेपाल पहिलो खेलमा जोर्डनसँग ७–० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको थियो । तेस्रो खेलमा भने नेपाल ताजिकिस्तानसँग ७–० ले पराजित भएको थियो ।

प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *