जनवरीमा क्यानडामा ‘सिने स्टार अवार्ड’ आयोजना गरिने

डिसी नेपाल
५ असोज २०७६ १७:५८

काठमाडौं। ‘सिने स्टार अवार्ड २०२०’ क्यानडाको टोरन्टोमा आयोजना गरिने भएको छ।

हिल्सा इन्टरटेनमेन्ट प्रा. लि. नेपालको मुख्य आयोजना तथा जी.टी.ए. लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको सहकार्यमा अवार्ड हुने भएको हो।

आइतबार राजधानीमा एक कार्यक्रमका बीच आयोजकले आगामी जनवरीको अन्तिम साता अवार्ड हुने घोषणा गरेको हो। कार्यक्रममा बोल्दै आयोजक समितिका संयोजक प्रतिक बुढाथोकीले पर्यटन बर्ष २०२० लाई लक्षित गरेर अवार्ड आयोजना गर्न लागिएको बताए । विश्वब्यापीकरणको बाटोमा रहेको नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्नमा अवार्डले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै प्रतिकले नेपाली पहिचानलाई विश्वस्तरमा चिनाउने आफूहरुको उद्देश्य रहेको बताए।

कार्यक्रममा अवार्ड कार्यक्रमलाई शुभकामना प्रदान गर्न चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, बोर्ड पूर्व अध्यक्ष तथा बरिष्ठ कलाकार कृष्ण मल्ल, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, बरिष्ठ अभिनेता शिव श्रेष्ठ, अभिनेत्री आँचल शर्मा, पवित्रा आचार्य, अभिनेता सलोन बस्नेत, आमेश भण्डारी, निराजन प्रधान लगायत उपस्थित थिए।

पर्यटन वर्ष लक्षित कार्यक्रमले राष्ट्रिय पर्यटन प्रवद्र्धनमा ठुलो भूमिका खेल्ने र सरकारले पर्यटन वर्ष मनाइरँदा विदेशी भूमिमा आयोजना हुन लागेको अवार्ड समारोहले सरकारी अभियानमा हातेमालो गर्ने अपेक्षा आयोजकले लिएको छ। दैनिक १ लाख बढि पर्यटकले भ्रमण गर्ने टोरन्टोमा अवस्थित विश्वकै सात आश्चर्य मध्येको एक ‘नायग्रा फल्स’मा नेपाली चलचित्र र नेपाली पहिचानलाई पुर्याउने प्रतिवद्धता पनि आयोजकले गरेको छ।

ड्रिम हाइ नेपाल प्रा.लि. को इभेन्ट व्यवस्थापन र नेपाल चलचित्र कलाकार संघको विशेष सहयोगमा आयोजना हुने ‘सिने स्टार अवार्ड २०२०’ मा १२ प्रतिस्पर्धी विधा समावेश हुनेछन् भने जुरी अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी कुल १४ विधामा अवार्ड तथा सम्मान वितरण गरिनेछ।

जनवरी ३१ तारिखमा हुने अवार्ड आयोजना पूर्व २०७५ सालभर प्रदर्शनमा आएका चलचित्रहरुबाट उत्कृष्ट तीनको मनोनयन सार्वजनिक हुनेछ भने सबैविधाका उत्कृष्ट तीन प्रतिस्पर्धिलाई कार्यक्रममा सहभागी गराउने लक्ष्य आयोजकको छ।

मोहन निरौला, रमेश बुढाथोकी र दिनेश डिसी सम्मिलित निर्णायक टिमको मूल्याङ्कनको आधारमा सम्बन्धित विधामा उत्कृष्ट मनोनयन चयन हुनेछन्।

प्रतिक बुढाथोकी संयोजक रहेको टिममा नेपालबाट बसन्त निरौला, सिपी पौडेल, पिटरकुमार श्रेष्ठ, विजय बस्याल, श्रीधर पौडेल, बैकुण्ठराज पराजुली आयोजक सदस्य छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *