के रेशम चौधरीको मुद्दा फिर्ता लिने तयारी भएको हो?

डिसी नेपाल
६ असोज २०७६ ६:४०

काठमाडौं। सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आइतबार सुनसरी पुगेर एक सनसनीपूर्ण खुलासा गरे – ज्यान मुद्दामा कैद भुक्तान गरिरहेको राजपा सांसद रेशम चौधरीको झुठा मुद्दा खारेज गर्ने सहमति भएको छ।

उनले कोसँग सहमति भएको हो, त्यो नखुलाए पनि सरकारले सो मुद्दा फिर्ता लिने तयारी गरेको संकेत भने गरे। तर, उनले भने जस्तै सरकारले मुद्दा खारेज भने गर्न सक्दैन। र सहमति भयो भन्दै खारेज हुने कुरा पनि भएन।

मुद्दा खारेज गर्ने अधिकार त अदालतसँगमात्र छ। र अदालतले चौधरीलाई दोषी ठहर गर्दै कैद सजाय तोकेको छ। चौधरी जेलमा छन्। उनले जेलबाटै सिंहदरबार पुगेर प्रतिनिधिसभा सदस्य पदको शपथ ग्रहण गरेका थिए। र शपथपछि पुनः जेल पुर्याइएको अनौठो दृष्य पनि नेपाली राजनीतिक रंगमञ्चमा देखिएको थियो।

सरकारले चौधरीको मुद्दा फिर्ता भने लिन सक्छ। तर, हत्या जस्ता गम्भीर मुद्दा फिर्ता लिन नपाइने मान्यता छ। चौधरी २०७४ मा भएको आम निर्वाचनमा कैलालीबाट राजपाका उम्मेदवार बन्दै विजयी भएका थिए। भुमिगतरुपमा चुनाव लडेका उनले लामो समय शपथसमेत ग्रहण गर्न पाएका थिएनन्।
थरुहट आन्दोलनका क्रममा कैलालीमा भएको प्रदर्शनका क्रममा एक एसएसपीसहित ७ जनाको ज्यान जाने गरी भएको मुद्दामा उनी दोषी ठहर भएका छन्।

राससका अनुसार आइतबार दाहालले टिकापुर घटनाका विषयमा छलफल भएको बताएका छन्। सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का बजारमा थारू कल्याणकारी सङ्घ सुनसरीले आयोजना गरेको जितिया महोत्सवमा सम्बोधन गर्दै उनले भने, ‘आदिवासी थारूहरु आन्दोलनका सहयात्री हुन् । हामी गतिशीलता र प्रगतिशीलमा विश्वास गर्ने मान्छे, निरन्तर समृद्धिको यात्रामा लैजाने सङ्कल्प गरेका छौँ ।’

अध्यक्ष दाहालले राष्ट्र समृद्धि र समाजवादको आधार तयार गर्न बाँकी रहेको उल्लेख गरे। उनले भने, ‘थारूहरुको मात्र आन्दोलन उनीहरुको मात्र होइन, सबैको आन्दोलन हो, यसको समाधानको बाटोमा लाग्नुपर्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *