सिपिएलमा सन्दिपको औसत प्रदर्शन, टिम पराजित

डिसी नेपाल
६ असोज २०७६ १०:३१

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत बर्बाडोस ट्रीडेन्टस गुयाना अमेजन वारियर्ससँग पराजित भएको छ । सोमबार बिहान सम्पन्न खेल बर्षाले प्रभावित भएपछि डक वर्थ लुइस नियम अनुसार गुयाना १२ रन ले विजयी भएको हो ।

बार्बाडोसले दिएको १३९ रनको लक्ष्य पछाएको गुयाना ११ ओभरमा २ विकेट गुमाउदै ८१ रन बनाएपछि खेल बर्षाले अवरुद्ध हुन पुगेको थियो । बर्षाले अवरुद्ध भएपछि ११ ओभरमा ७० रनको लक्ष्य निर्धारित भएपछि गुयाना विजयी भएको हो । गुयानाका लागि ब्रान्डन किंगले अविजित ५१ रन बनाए भने चन्द्रपाउल हेमराजले २० रन बनाए ।

बार्बाडोसका लागि सन्दीप लामिछाने र जेपी डुमिनीले एक एक विकेट लिए । ३ ओभर बलिङ गरेका सन्दीपले २१ रन दिएर एक विकेट लिएका हुन । पहिलो ओभरमा ८ रन दिएका सन्दीपले दोस्रो ओभरमा कमब्याक गर्दै केवल ३ रन दिएर एक विकेट लिएका थिए । त्यस्तै सन्दीपले तेस्रो ओभरमा १० रन दिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बर्बाडोसले १९.२ ओभरमा अल आउट हुदै केवल १३८ रन बनाएको थियो । बार्बाडोसका लागि जेपी डुमिनीले सर्वाधिक ३८ रन बनाए । त्यस्तै एलेक्स हल्सले २४, जोनसन चार्लिज, जस्टिन ग्रिभ्स, एशले नर्स र रेमन रेइफ़रले ११-११ रन बनाएका थिए । त्यस्तै जोस लालोरले १० रन बनाएका थिए ।

गुयानाका बलर क्रिस ग्रीनले सर्वाधिक ४ विकेट लिए । ग्रीनले ३.२ ओभर बलिङ गर्दै केवल १४ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै इमरान ताहिरले २ विकेट लिए भने किमो पाउल, शोएब मल्लिक, रोमारोयो शेफर्ड र ओडीन स्मिथले एक एक विकेट लिएका थिए ।

यो जितपछि गुयाना अपराजित रहदै ६ खेलमा १२ अंक हासिल गरेको छ भने अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । त्यस्तै बार्बाडोसले भने ५ खेलमा तेस्रो हार बेहोरेको छ । बार्बाडोसले ५ खेलमा २ जित र तीन हार बेहोर्दै ४ अंक बटुलेको छ । अब अर्को खेल मंगलबार बिहान बार्बाडोस र जमैका तल्लावाहबीच हुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *