फिफा वर्ष खेलाडीमा नेपालका २ कप्तान, २ प्रशिक्षक र १ पत्रकारले कस–कसलाई भोट दिए?

डिसी नेपाल
७ असोज २०७६ १३:४२

काठमाडौं। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले दिने वर्ष खेलाडीको पुरस्कार गएराती घोषणा भयो । वर्ष २०१९ को यो अवार्ड बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेस्सीले जिते । यो अवार्डका लागि फिफा आबद्ध देशका कप्तान, प्रशिक्षक र एक खेल पत्रकारले भोट दिन्छन् । उनीहरुले मनोनयनमा परेकामध्ये ३ जनालाई अंक दिन पाउँछन् । तीन जनामध्ये एक जनालाई ५, एक जनालाई ३ र एक जनालाई १ अंक दिन पाइन्छ ।

यो अवार्डका लागि नेपालका तर्फबाट ५ जनाले भोट दिएका थिए । नेपाली पुरुष टिमका कप्तान विराज महर्जन, महिला कप्तान निरु थापा, पुरुष टिम प्रशिक्षक योहान कालिन, महिला टिम प्रशिक्षक हरि खड्का र खेल पत्रकार रितेश रिजालले भोट दिएका थिए । नेपाली पुरुष टिमका कप्तान विराजले क्रिस्टियानो रोनाल्डोलाई ५ अंक, लियोनेल मेस्सीलाई ३ अंक र भर्जिल भान डाइकलाई १ अंक दिएका थिए । यो अवार्ड लियोनेल मेस्सीले जिते ।

नेपालका प्रशिक्षक योहान कालिनले भने मेस्सीलाई ५, रोनाल्डोलाई ३ र भान डाइकलाई १ अंक दिएका थिए । यस्तै नेपालमा मिडियाको तर्फबाट भोट दिएका रितेश रिजालले पनि मेस्सीलाई नै ५ अंक दिएका थिए । रितेशले किलियन एम्बाप्पेलाई ३ र भर्जिल भान डाइकलाई १ अंक दिएका थिए ।

उत्कृष्ट प्रशिक्षकका लागि दिइने भोटमा कप्तान विराजले लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपलाई ५ अंक, म्यान्चेस्टर सिटीका पेप ग्वार्डिओलालाई ३ अंक र टोटनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिनोलाई १ अंक दिएका थिए । कप्तान विराजले ५ अंक दिएका क्लोपले नै यस वर्ष यो अवार्ड जिते । नेपालका प्रशिक्षक कालिनले ५ अंक क्लोपलाई नै दिएका थिए । उनले सिटीका ग्वार्डिओलालाई ३ अंक र अयाक्सका प्रशिक्षक इरिक टेन ह्यागलाई १ अंक दिएका थिए । मिडियाको तर्फबाट रितेशले पनि क्लोपलाई ५ अंक, ग्वार्डिओलालाई ३ अंक र पोचेटिनोलाई १ अंक दिएका थिए ।

महिलातर्फ मनोनयनमा परेकाहरुलाई महिलातर्फबाटै भोट गरिने नियमअनुसार महिला कप्तान निरु थापा र महिला टिमका प्रशिक्षक हरि खड्काले भोट दिएका थिए । मिडियातर्फबाट भने महिलालाई पनि रितेश रिजालले नै भोट गरेका थिए । उत्कृष्ट महिला खेलाडीको लागि नेपाली कप्तान निरु थापाले मेगान रापिनलाई ५ अंक, एलेक्स मोर्गानलाई ३ अंक र केर सामलाई १ अंक दिएकी थिइन् । यो अवार्ड रापिनले नै जितिन् ।

नेपाली महिला टिमका प्रशिक्षक हरि खड्काले पनि कप्तान निरुले जस्तै रापिनलाई ५, मोर्गानलाई ३ र सामलाई १ अंक दिएका थिए । यस्तै मिडियाको तर्फबाट रितेशले रापिनलाई ५, लुसी बोन्जलाई ३ र हेगेरबर्ग एडालाई १ अंक दिएका थिए । उत्कृष्ट महिला टिम प्रशिक्षकमा नेपाली कप्तान निरुले जिल एलिसलाई ५, रेनाल्ड पेडरोसलाई ३ र फुतोसी इकेडालाई १ अंक दिएकी थिइन् । यो अवार्ड एलिसले नै जितिन् । प्रशिक्षकका लागि नेपालका प्रशिक्षक हरि खड्काले एलिसलाई ५ अंक, रेनाल्डलाई ३ अंक र इकेडालाई ३ अंक दिएका थिए । मिडियाबाट रितेशले एलिसलाई ५, रेनाल्डलाई ३ र सरिना विगम्यानलाई १ अंक दिएका थिए ।

कुन देशबाट कसलाई भोट आयो ? हेर्नुहोस् पुरुषतर्फको पूरा सूची –

हेर्नुहोस् महिलातर्फको पूरा सूची –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *