बाग्लुङमा शालिग्राम सङ्ग्रहालय बन्दै

डिसी नेपाल
७ असोज २०७६ २२:०२

बाग्लुङ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरङ्गवेंकटेश मुक्तिनारायण मन्दिरछेवैमा सुरुङद्वार देखिन्छ।

द्वारबाट छिरेपछि निर्माणाधीन भूमिगत ‘स्वामी श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय’ पुगिन्छ ।

सङ्ग्रहालयमा गण्डकी सभ्यताको प्रतिरुप, धार्मिक पुस्तकालय, ध्यानस्थल र वृत्तचित्र प्रदर्शनी कक्ष बनिरहेको छ । सङ्ग्रहालयको ८० प्रतिशत काम पूरा भएको मन्दिरका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताए। ‘आउँदो माघसम्ममा सर्वसाधारणलाई सङ्ग्रहालय खुला गर्ने योजना छ’, उनले भने ।

कालीगण्डकी (पौराणिक नाम कृष्णागण्डकी) नदीमा मात्र पाइने बहुमूल्य शिला शालिग्राम जोगाउने उद्देश्यले गत वर्ष सङ्ग्रहालय निर्माणको काम शुरु भएको थियो । सय मिटर लामो सुरुङको प्रवेशद्वार नजीकै कृत्रिम भू–बनोटमा दामोदर कुण्डदेखि त्रिवेणीसम्मका धार्मिक तथा सांस्कृतिक सम्पदाको नमूना देखाइएको छ । यसमा मठमन्दिर, देवस्थल, हिमाल, नदीसँगै अन्य भौतिक संरचना निर्मित छन् ।

भौगोलिक नक्सा अनुसारकै नमूना तयार पार्न नेपाली सेनाले सघाएको थियो । मुस्ताङमा पर्ने दामोदर कुण्ड कालीगण्डकी नदीको उद्गमस्थल हो । ‘सिङ्गो गण्डकी सभ्यताको नमूना प्रतिरुप देखाउन खोजिएको छ’, अध्यक्ष प्रपन्नाचार्यले भने ।

सुरुङको केही भित्र पुगेर बायाँ मोडिएपछि शालिग्राम सङ्ग्रह गर्नका लागि बनाइएको संरचना भेटिन्छ । दुर्लभ र धार्मिक महत्वका एक लाख शालिग्राम त्यहाँ सङ्ग्रहित गरिनेछ ।

मन्दिरका संस्थापक स्वामी श्रीधराचार्यको स्मृति कक्ष पनि सङ्ग्रहालयमा रहनेछ । उहाँको मूर्तिसँगै गण्डकी सभ्यताबारे उहाँले लेख्नुभएका पुस्तक, लेख, रचना र अन्य सामग्री उक्त कक्षमा रहने जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *