मलेसिया र नेपाल बीच ऐतिहासिक सम्झौता, अम्पायर र स्कोररले एक–अर्काको घरेलु लिग खेलाउन पाउने
काठमाडौं । नेपाल र मलेसियाको घरेलु क्रिकेटमा दुवै देशका क्रिकेट अम्पाएर र स्कोररले सहभागिता जनाउन पाउने भएका छन् ।
घरेलु क्रिकेटमा आफ्नो अम्पाएर र स्कोररलाई सहभागिता गराउन क्रिकेट अम्पाएर एसोसियसन अफ नेपाल (सियुएसएन) र मलेसियन क्रिकेट एसोसियसन (एमसीए) सहमत भएका छन् ।
मलेसियाको क्वालालम्पुरमा विश्वकप च्यालेन्ज लिग ए को दौरान सियुएसएन र एमसीएबीच मंगलबार सम्झौता भएको छ । सियुएसएनका अध्यक्ष बुद्धि बहादुर प्रधान र एमसीएका अध्यक्ष महिन्दा भल्लिपुरमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार अब नेपाली अम्पाएर र स्कोररले मलेसियाको घरेलु लिगमा तथा मलेसियाका अम्पाएर र स्कोररले नेपाली घरेलु लिगमा अम्पाएरिङ र स्कोरीङ गर्न पाउने छन् । सम्झौतापछि बोल्दै एमसीएका अध्यक्ष महिन्दाले नेपाल र मलेसिया क्रिकेटबीच राम्रो सम्बन्ध रहेको र दुई राष्ट्रबीचको यो पहिलो साझेदारी रहेको बताए ।
‘एमसीए सधै नेपालसँग नजिक छ र यो सम्झौता दुई देशको समझदारीको पहिलो खुट्किलो मात्र हो’ अध्यक्ष महिन्दाले भने, ‘एमसीएले खेलाडीलाई मात्र नभएर म्याच अफिसियल्सलाई समेत एक्सपोजर दिनेछ ।’
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एसोसियट मेम्बरका डाइरेक्टर समेत रहेका उनले यो सम्झौताबाट योग्य अम्पाएर तथा स्कोररलाई सुनौलो अवसर रहेको समेत बताए । सियुएसएनका अध्यक्ष प्रधानले समेत दुई एसोसियटका योग्य अम्पाएर र स्कोररलाई यो राम्रो अवसर रहेको र अन्य राष्ट्रका लागि एक उदाहरण समेत बनेको बताए ।
दुवै देशका लिग र प्रतियोगितामा सहभागिता जनाउने अम्पाएर र स्कोरर सम्बन्धित निकायले छनोट गर्नेछ । यो सम्झौता सन् २०१९ बाट सुरु भएर अर्को सम्झौता नभएसम्म कायम रहिरहने बताइएको छ ।
Facebook Comment