मनकारी जनप्रतिनिधि: आफ्नो तलब विद्यार्थीलाई सहयोग

डिसी नेपाल
८ असोज २०७६ १३:०८

गलेश्वर। म्याग्दीका एक जनप्रतिनिधिले आफूले पारिश्रमिकबापत पाउने तलब विद्यार्थीलाई सहयोग गरेर उदाहरणीय काम गरेका छन्।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले आफ्नो दुई महीना बढीको पारिश्रमिक तीन विद्यार्थीलाई सहयोग गरेर उदाहरणीय काम गरेका हुन्। उनले गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने तीन विद्यार्थीलाई एक लाख रुपैयाँ सहयोग गरेका हुन्।

अन्नपूर्ण गाउँपालिका–३ दानास्थित ज्ञानप्रकाश माविको ४४औँ वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले अध्यक्ष पुनले प्रदान गरेको एक लाख विद्यार्थीलाई वितरण गरेका हुन्।

सहयोग रकम हस्तान्तरण गर्दै मन्त्री पुनले अध्यक्षको सहयोगले गरीब विपन्न परिवारका जेहेन्दार विद्यार्थीको अध्ययनमा ठूलो सहयोग पुग्ने बताए। प्रदेश सरकारले शैक्षिक क्षेत्रलाई गुणस्तरीय र प्रभावकारी बनाउनमा जोड दिएकोसमेत उनले बताए।

गाउँपालिकाका अध्यक्ष पुनले घोषणाअनुसार आफूले पाउने सेवा सुविधाबाट गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने ज्ञानप्रकाश माविका छात्र एलिस पाइजालाई रु ५० हजार र सोही विद्यालयकी एलिना बैरागी र मुक्तिमार्ग मावि घारकी पवित्रा खड्कालाई जनही रु २५ हजारका दरले ५० हजार गरी तीन विद्यार्थीलाई रु एक लाख सहयोग गरेका हुन्।

आर्थिक अभावका कारण विद्यार्थीलाई अध्ययनमा समस्या नहोस् भनी हौसला प्रदान गर्नका लागि आर्थिक सहयोग गरेको अध्यक्ष पुनले बताए। गाउँपालिकाबाट पाउने सेवा सुविधासमेत नलिनुभएका उहाँले आगमी दिनमा पनि शैक्षिक क्षेत्रमा सहयोग गर्ने बताए। गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर बढाउन विभिन्न कार्यक्रम सञ्चालनसँगै शिक्षक मिलानलाई विशेष प्राथमिकता दिएको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *