पारस खड्का र सन्दिप लामिछानेबीच विवाद ? सन्दिपले दिए यस्तो जवाफ

डिसी नेपाल
९ असोज २०७६ ११:३८

काठमाडौं। नेपालले सिंगापुर र ओमानमा दुई टि–२० सिरिज खेल्नका लागि गएकै दिन सामाजिक संजालमा टिमका कप्तान पारस खड्का र स्टार बलर सन्दिप लामिछानेबीच विवाद भएको चर्चा चलेको छ । ट्वीटरमा सन्दिप र पारसबीच विवाद भएको हल्ला फैलिएको हो । यस विषयमा ट्वीट गर्नेहरुले आफ्नै किसिमका तर्क र दावी गरेका छन् ।

यो विवादको हल्ला बुधबार सुरु भएको हो । बुधबार ट्वीटरमा मिलन सापकोटा नामको ट्वीटर ह्याण्डरबाट एउटा ट्वीट भयो जसमा उनले सन्दिपले पारसलाई ट्वीटरमा अनफलो गरेको उल्लेख गर्दै सन्दिप र पारसबीच विवाद भएको उल्लेख गरे । विवाद के थियो भन्ने आफूलाई जानकारी नभए पनि सन्दिपले यसो गर्नु गलत भएको भन्दै उनले सन्दिप पारसको हैसियतमा आउन वर्षौं लाग्ने उल्लेख गरे ।

उनको ट्वीटपछि धेरैले आ–आफ्नो तर्क गरेका छन् । एक प्रयोगकर्ताले रमण शिवाकोटीका विषयमा विवाद भएको बताएका छन् । रमण राष्ट्रिय टिमसँगै सन्दिपका व्यक्तिगत म्यानेजर पनि हुन् । अर्का एक प्रयोगकर्ताले सन्दिपलाई क्यारेवियन प्रिमियर लिग छाडेर राष्ट्रिय टिममा खेल्न बोलाइएपछि सन्दिप रिसाएको दावी गरेका छन् ।

यद्यपि यो दावीमा भने दम छैन । विश्वका कुनै पनि लिग खेल्न गएका खेलाडी राष्ट्रिय टिमले बोलाएमा टिममा फर्कन्छन् र यसको अपवाद समेत अहिलेसम्म भेटिएको छैन । फ्रेन्चाइज लिग खेल्ने खेलाडीको सम्झौतामै राष्ट्रिय टिमबाट खेल्नुपर्ने भएमा जुनसुकै समय राष्ट्रिय टिममा फर्कने शर्तसमेत समावेश गरिएको हुन्छ ।

ट्वीटरमा धेरै नै वादविवाद भएपछि यस विषयमा सन्दिपले ट्वीटरबाट नै जवाफ दिएका छन् । सन्दिपले लेखेका छन् ‘सुन्ने कुरा धेरै हुन्छ हजुर । कसको सुन्नु हुन्छ तपाइँले ? म नि हेरुम न कसले भनेको रैछ कि सिपिएलबाट बोलाउँदा म रिसाएँ । सत्य कुरा नबुझिकन जे पनि भन्न सजिलो हुन्छ । तपाइँले कति सजिलै मलाई मूल्यांकन गर्नु भयो । मन सफा हुनु पर्छ हजुर पैसा त आउने जाने कुरा हो ।’ कप्तान पारस खड्काले भने यस विषयमा केही बोलेका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *