नयाँ नेतृत्व चयनका लागि क्यानको चुनावी साधारण सभा आज

डिसी नेपाल
१० असोज २०७६ ८:१६

काठमाडौं । नयाँ नेतृत्व चयनका लागि नेपाल क्रिकेट संघ क्यानको साधारण सभा आज हुँदैछ । दुई दिनसम्म काठमाडौंमा चल्ने साधारण सभाले क्यानको नयाँ नेतृत्व चयन गर्नेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाल क्रिकेट संघलाई प्रतिबन्ध लगाएपछि हुन लागेको यो सधारणसभालाई निकै चासोका साथ हेरिएको छ । शुक्रबार साधारण सभाको उद्घाटन शत्र र निर्वाचन सम्बन्धि कार्यविधि तय हुनेछ । शनिबार निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले क्यान निलम्बन गरेको झण्डै साढे ३ बर्षपछि क्यानको नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो । सरकारी हस्तक्षप र अवैधानिक चुनावको कारण देखाउँदै आईसीसीले नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो ।

नेपाली क्रिकेट विवाद समाधानका लागि आईसीसीले बनाएको सल्लाहाकार समितिले क्यानको विधान तयार गरेको थियो । सोही विधानमा टेकेर आईसीसीको स्वतन्त्र कमिटिले क्यानको नयाँ नेतृत्वका लागि निर्वाचन गराउन लागेको हो । साधारण सभामा क्यानको जिल्ला र प्रदेशबाट ५९ सदस्य प्रतिनिधि काठमाडौं आएका छन् । सदस्य संख्याको बहुमतले क्यानको नयाँ नेतृत्व चयन गर्नेछ ।

नयाँ नेतृत्वका लागि चतुरबहादुर चन्द र विनयराज पाण्डेसहित उपाध्यक्षमा राजाबाबु श्रेष्ठ र मिङ्मा डाण्डु शेर्पाले प्रतिस्पर्धा गर्ने सम्भावना छ । सचिवमा अशोकनाथ प्याकुरेल र विनोद मैनालीले इच्छा देखाएका छन् भने कोषाध्यक्षमा रोशनकुमार सिंह र उपेन्द्र भट्टराईले प्रतिस्पर्धा गर्ने सम्भावना रहेको छ ।

१७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नका लागि ५९ जना मतदाता रहेका छन् । केन्द्रीय कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष १–१ जना हुनेछन् । बाँकी १३ जना सदस्य निर्वाचित हुनेछन् । ४ वर्षको कार्यकालको चयनका लागि ५९ जनाको मताधिकार रहेको छ । जिल्लाबाट १–१ प्रतिनिधि गरेर ३९ र प्रदेशका २० जनाले भोट हाल्न पाउनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *