कमलाको पढाईको लागि एलिजाले पठाइन् ४० हजार, ऋषि धमलाले गरे हस्तान्तरण
काठमाडौं। नायिका एलिजा गौतम धमलाले ११ वर्षीया दोहोरी गायिका कमला घिमिरेलाई पढाईमा सहयोग गर्न भन्दै चालिस हजार रुपैयाँ प्रदान गरेकी छिन्। हाल क्यानडामा रहेकी नायिका एलिजाले आफ्ना पति ऋषि धमलामार्फत उक्त रकम गायिका घिमिरेलाई प्रदान गरेकी हुन्। उनले उक्त रकम आफ्नै कमाई भएको समेत भिडियो सन्देशमा स्पष्ट पारेकी छिन्।
त्यस्तै, कमलालाई मिडियासामू ल्याउन र उनको कलालाई प्रष्फुटन गर्न सहयोग पुर्याउने अमृत सापकोटालाई पनि दश हजार रुपैयाँ प्रदान गरिएको छ। नायिका एलिजाले कमलालाई १२ कक्षासम्म पढाउने अठोटमात्रै हैन यो बर्षको लागि चाहिने पढाई खर्चबापत आर्थिक सहयोग प्रदान गरेकी छिन्। कमलाको एक वर्षको वार्षिक पढाइ खर्च चालिस हजार बरिष्ठ पत्रकार धमलाको हातबाट प्रदान गरिएको हो।
कार्यक्रममा पत्रकार धमलाले आफ्नी पत्नी एलिजा यतिवेला क्यानडा रहेको सुनाए । उनले भने,‘उहाँ छोरीको हात हाल्नको लागि क्यानडा जानुभएको छ। कमला मेरो टिभी कार्यक्रम जनता जान्न चाहन्छन्मा आएकी थिईन् । त्यतिवेला नै उहाँले कमला नानीलाई १२ कक्षासम्म पढाउने अठोट गर्नुभएको थियो। उहाँ क्यानडा गएर आफूले कमाएको पहिलो रकम, उहाँले हिजो मलाई फोन गरेर भन्नुभएको थियो। र, रकम पठाउनुभयो। त्यही रकम नानीलाई हस्तान्तरणको लागि आज हामी यहाँ जम्मा भएका छौं।’
धमलाले आफूहरु समाजमा परिवर्तन चाहने बताउँदै भने,‘कमला नानीको जुन प्रतिभा छ, त्यसको हामी सम्मान गर्छौं। उच्च कदर गर्छौं। म त उहाँलाई बहुमुखी प्रतिभाकी धनी भनेर भन्न रुचाउँछु। छोटो समयमा उहाँले लोकभाका र लोकदोहोरीमा जुन किसिमको ख्याँति प्राप्त गर्नुभएको छ, त्यो हामी सबै नेपालीको लागि अनुकरणनीय र उदाहरणनीय काम हो। उहाँमा देशप्रतिको माया छ।’
दोहोरी खेल्दा यो क्षेत्रमा दशकौं समय व्यतित गरेका सिद्दहस्त कलाकारसँगपनि अति सरल रुपमा बिना कुनै दबाब प्रस्तुत हुने गरेको र प्रत्युत्तरपनि धेरै राम्रो दिने गरेकोमा धमलाले कमलाको प्रशंसा गरे।
रकम हस्तान्तरण कार्यक्रममा उपस्थित् कमलाका बुवाले पत्रकार धमला र आफू एउटै गाउँपालिकाको बासिन्दा भएको सुनाए । तर, कार्य व्यस्तताले आजको भेट भने दोस्रोपटक मात्रै भएको उनले सुनाए। पत्रकार धमलाको पत्रकारिता देश र जनताको हितमा रहेको उनको भनाई छ।
उनले भने,‘म उहाँका टिभी र रेडियोमा प्रशारण हुने कार्यक्रमहरु नियमित हेर्छु। मलाई निकै मन पर्छ।’ पत्रकार धमलालाई देख्दा र भेट्दा आफूलाई निकै रमाईलो लाग्ने पनि उनले सुनाए । सिंगो धादिङवासीले पत्रकार धमलालाई रुचाउने र मान्ने गरेको कमलाको बुवाको भनाई छ।
कार्यक्रममा गायिका कमला घिमिरेले आफ्नो शिक्षा आर्जनको लागि धमला पत्नी एलिजाले गरेको सहयोगको लागि खुशी तथा आभार व्यक्त गरिन् । उनले भनिन्,‘म निकै खुशी छु । अब मलाई पहिलेजस्तो कापी, कलम किन्न कुनै समस्या हुँदैन् ।’ उनले एलिजाको साथ र सहयोगले नै आफूलाई पढाईमा अब कुनै समस्या नहुने बताउँदै आगामी दिनमा पनि यस्तै सहयोग र साथ कायम राखिदिन आग्रह गरिन् ।
Facebook Comment