दशैँ खर्च जुटाउन दाङ आइपुगे राउटे

डिसी नेपाल
११ असोज २०७६ ०:१८

घोराही । परापूर्वकालदेखि जङ्गली जीवन बिताउँदै आएका राउटे समुदायका अगुवाहरू दशैँ खर्च जुटाउन दाङका विभिन्न सरकारी कार्यालय, सङ्घसंस्थालगायतका स्थानमा आर्थिक रकम जुटाउँदै हिँडेका छन् ।

शुक्रबार घोराही उपमहानगरपालिकामा आर्थिक सहयोग जुटाउन आएका उनीहरूले अहिलेसम्म रु १० हजार जम्मा गरिसकेको पनि जानकारी दिए।

कुराकानीको क्रममा राउटेका मुखिया नारायणबहादुर शाहीले आफूहरूलाई दशैँमा खसी काट्ने, नयाँ कपडा किन्ने र टीका लगाएर चेलीबेटीलाई दक्षिणा दिनुपर्ने हँुदा आर्थिक सहयोग जुटाउँदै हिँड्नु परेको बाध्यता सुनाए।

“हामी सुर्खेतको कान्छी बजार भन्ने जङ्गलको डाँडामा बस्दै आएका छाँै”, उनले भने, “दशँै खर्चको लागि गाडी चढेर दाङसम्म आयौँ ।

दशैँमा खर्च गर्ने पैसा नहुँदा त्यसको जोहो गर्न आया हुँ ।” शाहीले आफ्नो बस्तीमा करीब २०० राउटे रहेको पनि जानकारी गराए। “हामी दाङमा माग्न आएका छाैँ । अर्को मुखियाको टोली काठमाडाैँ माग्न गएको छ । जनता (राउटे)लाई पुग्ने खर्च जुटाउने हो ।”

पहिले दाङको जङ्गलमा पनि केही वर्ष बसेको बताउने राउटेका मुखिया शाहीले पैसा मात्रै नभएर खसी, कुखुरा र नयाँ कपडा दिए पनि लैजाने बताए।

“हामी तीन जना मुखिया छौँ । जनता २०० छन् । हामीले जनतासँग कुरा गरेर माग्न आएका हौँ ।” सरकारले मासिकरूपमा दिँदै आएको रु दुई हजार निकै थोरै भएको उनले गुनासो गरे।

राउटेका मुखिया नारायणबहादुर शाहीसँग १४ वर्षीय बिर्खे शाही र दलाल शाही पनि साथमा आएका थिए। उहाँहरूले घोराही उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिलगायतका कार्यालयमा पुगेर सहयोग जुटाएको थियो । सामाजिक जीवनबाट टाढा रहेका राउटेहरू अझै पनि शिक्षा र स्वास्थ्यबाट टाढा छन् ।

सुर्खेतबाट दाङसम्म आर्थिक सहयोग माग्न आएका राउटेलाई घोराही उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयले सहयोग गरेका छन् ।

राउटेलाई घोराही उपमहानगरपालिकाका प्रशासकीय अधिकृत ऋषिराम केसीले रु २० हजार नगद दिएको थियो भने प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले रु सात हजार नगद र सुर्खेतसम्मको गाडी भाडाको व्यवस्था गरेका थिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *