बार्सिलोनालाई अर्को समस्या फाती पनि घाइते!

डिसी नेपाल
११ असोज २०७६ ९:३६

एजेन्सी । स्पेनिस ला लिगामा निकै खराब प्रदर्शन गरिरहेको बार्सिलोनालाई फेरी अर्को चोटको समस्या परेको छ । कप्तान लिओनेल मेस्सीपछि अब युवा फरवार्ड अन्सु फाती पनि गेटाफेविरुद्ध नखेल्ने भएका छन् ।

बार्सिलोनाले शनिबार गेटाफेको सामना गर्दैछ । नेपाली समयअनुसार खेल रातको ७ः४५ बजे सुरु हुनेछ । क्लबको स्वास्थ्य विभागले दिएको जानकारी अनुसार फातीको दायाँ घुँडामा समस्या देखिएको छ । उनको प्याटलर टेन्डनमा दुखाइ बढेपछि उनलाई विश्राम दिइएको हो । उनले अर्को खेलमा भने सहभागी हुने बलियो सम्भावना रहेको छ ।

फातीसँगै कप्तान मेस्सीपनि गेटाफेविरुद्ध खेलमा रहने छैनन् । उनी मंगलबार भिल्लारियलविरुद्ध खेलमा चोट बोकेपछि हाफ टाइममै बाहिरिएका थिए । उनको ग्रोइनमा समस्या रहेको र कम्तिमा ३ खेल गुमाउने पक्का भएको छ । मेस्सी र फातीसँगै डिफेन्डरद्वय स्यामुएल उम्टिटी र जोर्डी अल्बा फिट छैनन् । प्रशिक्षक एर्नेस्टो भालभेर्डेले गेटाफेविरुद्ध खेलका लागि १९ सदस्यीय टोली घोषणा गरिसकेका छन् ।

शत प्रतिशत फिट नहुनुका बाबजुद पनि ओस्मान डेम्बेले उक्त टोलीमा समेटिएका छन् । यसैगरी भिल्लारियलविरुद्ध खेलमा टोलीमा नरहेका मिडफिल्डर इभान राकीटिच पनि टोलीमा छन् । दुवै खेलाडीको पहिलो रोजाइमा पर्ने सम्भावना न्यून छ । आक्रमणमा लुइस सुआरेज र एन्टोइन ग्रिज्मनले खेल्नेछन् । यसै साता सम्झौता नविकरण गरेका कार्लेस पेरेजले यी दुईलाई साथ दिने सम्भावना छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *