आईसीसीले निलम्बन फुकुवा गर्नेमा ढुक्क छौं : चन्द

डिसी नेपाल
१३ असोज २०७६ १८:३६

काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले क्यानमाथि लगाएको निलम्बन छिट्टै फुकुवा गर्ने विश्वास व्यक्त गरेका छन्। आईसीसीकै सल्लाह र निर्देशनअनुसार काम भैरहेकोले उनले अब बस्ने बैठकबाट क्यानमाथिको निलम्बन हटाउने उनको दाबी छ।

उनले भने, ‘मलाई लाग्दैन् कि उसले अब पनि निलम्बन जारी राख्छ, नेपाल ठूलो सम्भावना भएको देश हो, यो कुरा आईसीसीलाई राम्रोसँग थाहा छ । आईसीसीले पनि नेपाललाई बचाउन खोजेको छ । नेपालको पक्षमा निर्णय गर्छ ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष चन्दले क्रिकेट विकासका लागि गृहकार्य थालिएको सुनाए । उनले भने, ‘निलम्बन फुकुवाको लागि हामीले पत्राचार गरिरहनु पर्दैन, नेपाली क्रिकेटको निकासलाई आईसीसीले दिएको रोडम्याप अनुसार नै हामीले काम पूरा गरेका छौं। आईसीसीकै निगरानीमा निर्वाचन भएकाले निलम्बन चाँडै फुकुवा हुने विश्वास छ ।’

उनले सरकारी हस्तक्षेप भएको, र स्वतन्त्र र निश्पक्ष चुनाव नभएकोले आईसीसीले क्यानमाथि निलम्बन गरेको भन्दै अहिले आईसीसीकै निर्देशनअनुसार आफूहरुले स्वतन्त्र र निश्पक्ष ढंगले सहमतिमै निर्वाचन सम्पन्न गरेकोले अब चाँडै निलम्बन फुकुवा हुने स्पष्ट पारे ।

उनले भने, ‘अन्य कुराहरु सुशासनलगायतका काम गर भनेपछि हामी गर्छौं, निलम्बन फुकुवाको लागि क्यानले प्रपोजल हाल्नुपर्ने कुरा छैन् । हामीले त आईसिसीले जे भन्यो त्यही त्यही खुरुखुरु गरेका हौं ।’

अध्यक्ष चन्दले नेपाली क्रिकेटले अब फड्को मार्ने विश्वास दिलाए । ‘हामी यो क्षेत्रको विकास र विस्तारका लागि योजनाबद्ध तवरले अघि बढिरहेका छौं ।’ खेलाडी छनोटको आधार तय गर्ने बताउँदै उनले भने, ‘विगत लामो समयदेखि क्यान निलम्बनमा रहँदा खेलाडी छनोटको कुनै आधार थिएन, मनोमानि ढंगले खेलाडी छनोट गरिएको छ । अब व्यवस्थित ढंगले खेलाडी छनोट गछौं ।’

पछिल्लो समय खेल मैदान पनि निर्माण भैरहेको सुनाउँदै अब क्रिकेटले गति लिने पनि बताए । उनले भने, ‘म यही मञ्चबाट चाँडोभन्दा चाँडो खेल मैदानहरु निर्माण गर्नका लागि सरकार, राखेप, प्रदेश सरकार र स्थानीय सरकारसँग अनुरोध गर्दर्छु । प्रत्येक गाउँपालिका र नगरपालिकामा करोडौंको खेल मैदानहरु बनेका छन् । दुर्गम क्षेत्रमा पनि खेल मैदानका लागि त्यत्रो लगानी गरेको छ । यसमा एउटा क्रेज छ । त्यसलाई व्यवस्थित र स्तरीय बनाउनका लागि सबैको साथ र भूमिका अपरिहार्य छ ।’
अध्यक्ष चन्दले राम्रो खेल मैदान भएपछि राम्रो क्रिकेट प्रतियोगिता हुने र राम्रो प्रतियोगिता भएपछि खेलाडीहरुले पनि राम्रो र उत्कृष्ट प्रदर्शन गर्न पाउने सुनाए । सरकारसँग खेल मैदानको लागि सहकार्य गरेर अघि बढ्ने उनले सुनाए । काठमाडौं मुलपानी क्रिकेट रंगशालाको सवालमा पनि राखेपले गरेको काममा सहकार्य गर्ने उनको विश्वास छ । उनले भने, ‘विगत तीन वर्षदेखि कर्मचारीहरुलाई तलब दिन सकेका छैनौं । हामी सही ट्रयाकमा ल्याउन संघर्षरत छौं । हामी स्टडी गर्छौं । हामी आफ्नो तवरबाट सक्दो प्रयास गर्छौं । राखेपले गरेको काममा सघाउँछौं ।’

खेलाडीहरुसँग सहकार्य गर्ने सुनाउँदै खेलाडीहरु पनि अनुशासित हुनुपर्ने बताए । ‘३६ देखि चालिस जनालाई नेश्नल सेन्ट्रल कन्ट्याक्टमा ल्याउँछौं’, उनले भने, ‘दुई वटा टिम अट्ने गरी हामी होमवर्क गरिरहेका छौं । प्यारालल दुई वटा टिम बनाउने लक्ष्य छ । एउटा सिनियर टिम हुन्छ । अर्को चाहीँ यु–२३ बारे कुरा चलिरहेको छ ।’

निर्वाचनमा पराजित भएका साथीहरुसँग सल्लाह गरेर नै अगाडि बढ्ने उनको भनाई छ । निर्वाचनमा हार जित एक प्रक्रिया भएपनि क्रिकेटमा लामो समय बिताएका साथीहरुको सल्लाह अनुसार क्यानलाई अगाडि बढाउने उनको भनाई छ ।

उनले विगतमा क्रिकेटका लागि दिएको अनुदान सही सदुपयोग हुन नसकेको आईसीसीको आशंका रहेको पनि सुनाए । उनले भने, ‘हामीले कुनै खालको गैरपारदर्शी र विवाद हुने काम गर्दैनौ ।’ उनले क्यानमा जित्ने व्यक्ति गौण भएको बताउँदै उनले भने, ‘व्यक्ति गौण हो, संस्था मुख्य कुरा हो । आईसीसीलगायत सरकारले व्यक्तिलाई हेर्दैन् ।’

उनले क्यानको सिईओ पनि प्रतिस्पर्धाको आधारमा नियुक्त गर्ने स्पष्ट पारे । उनले भने, ‘आईसीसीले हामीसँग आर्थिक पारदर्शिताका चुस्त प्रशासन सञ्चालनका लागि सिइओ राख्नुपर्ने शर्त राखेको छ। हामी आईसीसीको शर्तमा रहेर काम गर्छौं ।’ त्यस्तै, उनले प्रादेशिक क्रिकेटलाई सशक्त बनाउने आफ्नो योजना रहेको सुनाए । उनले थपे, ‘सम्पूर्ण क्रिकेटको विकासका जिम्मा प्रादेशिक क्रिकेटलाई दिन्छौं। नेपाल क्रिकेट संघले सुपरीवेक्षण र गतिविधिलाई सघाउने छ।’

अहिले निजीस्तरबाट भैरहेका विभिन्न लिगहरुलाई पनि कानुन बमोजिम बनाउने उनको भनाई छ । अध्यक्ष चन्दले यही वर्ष आफूहरुले देशकै ठूलो नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गर्ने पनि बताए । उनले भने, ‘अब नेपालको आधिकारिक र सबैभन्दा ठूलो लिग एनपिएल हुन्छ, यो लिगबाट नेपाली खेलाडी र नेपाली क्रिकेटले ठूलो प्रगति र फड्को मार्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *