त्रिकोणात्मक सिरिजः जिम्बावेसँग भिड्दै नेपाल, हारको बदला लिँदै इतिहास रच्ने अवसर

डिसी नेपाल
१४ असोज २०७६ ६:२९

काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले आज टेष्ट राष्ट्र जिम्बावेविरुद्ध दोस्रो खेल खेल्दैछ ।

सिरिज अन्तर्गत पहिलो खेलमा पराजय व्यहोरेको नेपालले मंगलबार फेरी जिम्बावेविरुद्ध खेल्न लागेको हो । इन्डियन एसोसियसनको मैदानमा नेपाल र जिम्बावेबीचको खेल साँझ ५ः१५ मा सुरु हुनेछ ।

जिम्बावेविरुद्ध मैदान उत्रदा नेपाल पहिलो खेलमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ । शुक्रबार भएको खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।

जिम्बावेलाई हराएर नेपाल सिरिजको उपाधि होड बलियो बनाउन चाहन्छ । आयोजक तथा एसोसियट राष्ट्र सिंगापुरले आइतबार जिम्बावेलाई हराएपछि नेपाल थप हौसिएको छ । आइतबार राति भएको खेलमा सिंगापुरले जिम्बावेलाई ४ रनले पराजित गरेको थियो ।

सिंगापुरले जिम्बावेलाई हराएसँगै नेपाल तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको थियो । नेपालले २ खेलमा १ जित र १ हारसहित २ अंक जोडेको छ । नेपालले सिंगापुरलाई भने ९ विकेटले हराएको थियो ।

सिरिजको तालिकामा जिम्बावेले पनि २ खेलमा २ अंक जोडेको छ । तर, नेपाल नेट रन रेटको आधारमा शीर्ष स्थानमा छ । सिंगापुरको पनि २ अंक छ । त्यसैले ३ वटै टिमले सिरिजको उपाधि जित्ने सम्भावना छ । डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष टोलीले उपाधि जित्ने छन् ।

यता, जिम्बावे पनि नेपाललाई लगातार दोस्रो खेलमा हराउँदै सिरिजको उपाधि होड बलियो बनाउन चाहन्छ । सिंगापुरसँग पराजित भएपछि दबाबमा रहेको जिम्बावे नेपालसँग सो गल्ति दोहर्याउन चाहदैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *