नेकपाका कानुन विज्ञ नेताले भने – ‘कृष्णबहादुर महरा फेरि पदमा फर्किने सम्भावना छैन’

डिसी नेपाल
१४ असोज २०७६ १६:३७

काठमाडौं। सभामुख कृष्णबहादुर महराले बलात्कार आरोप लागेपछि अनुसन्धानलाई सघाउन भन्दै राजीनामा दिए । उनले राजीनामा पत्रमा ‘अनुसन्धान पूरा हुँदासम्मको लागि’ राजीनामा दिएका छन् । उनको भाषा हेर्दा उनी अनुसन्धानमा सफाइ पाएर पुनः सभामुख पदमा फर्किने आशय व्यक्त गरेका छन् । उनले सांसद पदबाट पनि राजीनामा दिएका छैनन् । सांसद पदबाट राजीनामा दिँदा सभामुख पदबाट स्वतः पदमुक्त हुने भएकोले उनले सभामुख पदबाट मात्र राजीनामा दिएको हुन सक्छ ।

महराले सभामुख पदबाट अनुसन्धान पूरा हुँदासम्मको लागि भनेर राजीनामा दिएको भए पनि उनी पुनः सोही पदमा बहाल हुने सम्भावना नरहेको नेकपाकै एक शीर्ष नेताले बताएका छन् । कानुनका विज्ञसमेत मानिने ती नेताका अनुसार संविधानमा व्यवस्था भएअनुसार सभामुखको राजीनामाको प्रक्रिया पूरा भइसकेकोले अब त्यो पद रिक्त भइसकेको छ । ‘संविधानमा व्यवस्था भएअनुसार सभामुखले उपसभामुखसमक्ष राजीनामा दिने हो’ ती नेताले भने ‘उहाँले पनि आफ्नो लेटरहेडमै उपसभामुखसमक्ष लिखित राजीनामा दिएपछि नियमअनुसार प्रक्रिया पूरा भयो । अब सभामुख पद रिक्त भइसक्यो ।’

पार्टीले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाव दिएको भए पनि उनले सभामुख पदबाट मात्रै राजीनामा दिएको ती नेताले बताए । ‘उहाँले अहिले सभामुख पदबाट राजीनामा दिनुभयो, सांसद पदबाट राजीनामा दिनको लागि प्रक्रियामै हुनुहुन्छ होला’ ती नेताले भने ‘दुवै राजीनामा एउटै कागजमा दिनुपर्छ भन्ने त छैन । उहाँले सांसद पदबाट छुट्टै पानामा राजीनामा दिन सक्नुहुन्छ ।’ यद्यपि अब सभामुख पद रिक्त भइसकेकोले अब त्यो पद पूर्तिको प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

‘सभामुख पद रिक्त भइसकेको छ अब सम्भवतः संसद सचिवालयले नियमअनुसार पद रिक्त भएको सूचना निकाल्छ’ उनले भने ‘त्यसपछि नयाँ सभामुखको निर्वाचनको प्रक्रिया सुरु हुन्छ ।’ सांसद पदबाट समेत राजीनामा दिन पार्टीले सुझाव दिएकोमा महराले त्यसो नगरेकोबारे ती नेताले भने ‘संसदीय दलको बैठकमा उहाँले पार्टीले भनेको किन मान्नुभएन भनेर संसदीय दलका अध्यक्षले सोध्ने हो । त्यसपछि के गर्ने अध्यक्षले निर्णय गर्नुहुन्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *