त्रिकोणात्मक सिरिजः अन्तिम खेलमा नेपालले सिंगापुरको सामना गर्दै

डिसी नेपाल
१५ असोज २०७६ ८:५९

काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले आज अन्तिम खेल खेल्दैछ । नेपालले बुधबार आयोजक सिंगापुरको सामना गर्नेछ ।

इन्डियन एसोसियसनको मैदानमा नेपाल र सिंगापुरबीचको खेल साँझ ५ः१५ मा सुरु हुनेछ । सिंगापुरविरुद्ध मैदानमा उत्रदा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । यस्तै नेपाल सिंगापुरलाई पराजित गर्दै सिरिजको उपाधि जित्ने आशा कायम राख्न चाहन्छ ।

सिंगापुरविरुद्धको पहिलो खेलमा ९ विकेटको जित निकालेको नेपाल उक्त प्रदर्शनलाई कायम राख्ने योजनामा हुनेछ । यता, सिंगापुर नेपालसँग पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । सिरिजको दोस्रो खेलमा जिम्बावेलाई हराउन सफल सिंगापुर उच्च मनोबलका साथ मैदान उत्रनेछ ।

नेपाल सिरिजको अंक तालिकाको दोस्रो स्थानमा छ । नेपालले ३ खेलमा २ अंक जोडेको छ । ४ अंक जोडेको जिम्बावे शीर्ष स्थानमा छ । सिंगापुरलाई हराए नेपाललाई शीर्ष स्थानमा उक्लने मौका रहेको छ ।

आयोजक सिंगापुर २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ । त्यसैले सिंगापुर नेपाललाई हराउँदै सिरिजको उपाधि होड कायम राख्न चाहन्छ । सिंगापुरले अन्तिम खेलमा बिहिबार जिम्बावेसँग खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *