सलाहको दुई गोलमा लिभरपुलको संघर्षपूर्ण जित

डिसी नेपाल
१६ असोज २०७६ ९:३०

एजेन्सी । इन्ग्लिश क्लब लिभरपुलले युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा संघर्षपूर्ण जित निकालेको छ ।

बुधबार राति भएको रोमान्चक खेलमा लिभरपुलले साल्जवर्गलाई ४–३ गोल अन्तरले हराएको हो । एनफिल्डमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले दुई गोल गरे । यस्तै साडियो माने र एन्ड्रयु एण्डरसनले एक एक गोल गरे ।

साल्जवर्गका हि चान ह्वाङ, ताकुमी मिनामिनो र ब्रुट हालान्डले एक एक गोल गरे । खेलको नवौं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । २५ औं मिनेटमा एण्डरसनको गोलमा लिभरपुलले अग्रता २–० को बनायो । ३६ औं मिनेटमा सलाहले पहिलो गोल गर्दै लिभरपुललाई ३–० को अग्रता दिलाए ।

३९ औं मिनेटमा साल्जवर्गका ह्वाङले गोल गर्दै खेल ३–१ मा ल्याए । ५६ औं मिनेटमा मिनामिनोले गोल गर्दा खेल ३–२ को बन्यो । खेलको ६० औं मिनेटमा साल्जवर्गका हालान्डले गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याए । तर, खेलको ६९ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४–३ को जित दिलाए ।

जितसँगै समूह ई को लिभरपुलले २ खेलमा ३ अंक जोडेको छ । र, तालिकाको दोस्रो स्थानमा छ । लिभरपुल पहिलो खेलमा नापोलीसँग पराजित भएको थियो । साल्जवर्गले पनि २ खेलमा ३ अंक जोडेको छ । साल्जवर्ग तेस्रो स्थानमा छ । यस समूहको अर्को खेलमा नापोलीले जेन्कसँग गोलरहित बराबरी खेलेको छ ।

नापोली ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । जेन्क १ अंक जोडेर तालिकाको पुछारमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *